कञ्नपुरका बाढी पिडित भन्छन् ‘बाढीबाट त बाच्यौँ भोकै कसरी बाचौँ ?’

महेन्द्रनगर । गत आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीकी दिर्घमती देवि खड्का अरुदिन झै साझ छिटै खाना खाएर ओछ्यानमा पल्टिइन् ।

बाहिर पानी परिहरेको थियो उनि घरभित्र मोवाइलमा गीत सुन्दै पल्टेकी थिइन् । राती १२ बजे अचानक महाकालीमा पानीको भेल सुसाएको आवाज सुनेपछि दिर्घमती बाहिर हेर्न आउँदा सम्म उनको घर वरिपरि पुरै महाकालीको पानीले जलमग्न भइसकेको थियो ।

बाढी धेरै नै बढेकोले उनि सहित स्थानिय ४ जना महाकाली नदिको बिच भागमा फसे । बाढीबाट बच्न उनिहरु रुखमा चढेर रातभरी उद्धार टोलीको प्रतिक्षामा रुखमै बसे ।

अर्कोदिन (सोमबार) मात्रै नेपाली सेनाको हेलिकप्टर मार्फत नदीमा फसेका ४५ वर्षीया दीर्घमती सहित, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायकको सकुशल उद्धार गरिएको थियो ।

‘राती अचानक बाढी आउँदा हामी नदिको बीच भागमा रातभरि फस्यौँ ।’ दिर्घमतीले भनिन् ‘अर्का दिन हेलिकप्टरले हाम्रो उद्धार गर्यो ।’ उनले अगाडी थपिन् ‘बाढीबाट जसोतसो ज्यान बाचेपनि बाढीले हाम्रो घरमा रहेका सबै अन्न,लत्ताकपडा सबै बगाएर लग्दा अहिले दुईछाक खान समस्या भएको छ ।’

बाढीबाट ज्यान जोगिएपनि घरमा अन्न,कपडा केही नहुँदा के खाने भन्ने चिन्ता रहेको उनले बताइन् । ‘वडा कार्यालयले हिजो सोमबार केही किलोग्राम चामल,दाल,तेल,नुन त दिएर गएका छन् ।’ उनले भनिन् ‘तर वडा कार्यालयले दिएको त्यो राहत सकिएपछि के खाने भन्ने चिन्ता अझै लागिरहेको छ ।’

सोही क्षेत्रका कृष्ण चन्दको पनि घर सहित अन्न,लत्ता कपडा सबै बगाएपछि अहिले उनि छाक कसरी टार्ने भन्ने चिन्तामा छन् । ‘बाढीले सबै बगाएर लग्यो । हिजो वडा कार्यालयले केही खाद्य सामाग्री त दिएर गएका छन् तर खै कति दिन चल्ने हो त्यसपछि के खाने ? बाढीबाट त बाच्यौ अब खाना नपाए कसरी बाच्ने हो ? हामी त भगवानको भरोसामा छौ ।’

यता भीमदत्त नगरपािलका–१२ की ५३ वर्षिया सिद्धा देवी थापा पनि चाउँचाउ र चिउँरा खाएर ६ दिनदेखी छाक टारिहरेकी छन् । ‘मैले छिमेकीको ४ कट्टा जग्गा वर्षको १० हजार रुपैया तिर्ने गरि लिजमा लिएर धान लगाएकी थिए ।’ थापाले भनिन् ‘तर अस्तिको बाढीले खेत र घरमा रहेका सबै अन्न बगाएर लग्यो ।’ उनले अगाडी थपिन् ‘अब अहिले म का बाट जग्गाको भाडा तिरु,के खाउँ ? कोही ऋिण पनि दिदैनन्, अस्ति चाउँचाउँ,चिउरा दिएका थिए त्यही खाएर बाचेकी छु । बाढीबाट बाचेपनि भोकै कसरी बाचौँ ?’

भीनपा–१२ बैजनाथ टोलकी किरण बुढाको समस्यापनि उस्तै छ । ‘बाढीले मेरो कुखुरा फार्ममा भएका सबै ५ लाख मुल्यका कुखुरा,घर,अन्न,लक्ता कपडा सबै बगाएर लग्यो ।’ किरणले भनिन् ‘अहिले म र मेरो परिवार महाकालीको किनारमा रहेको सडकमा खुला आकाशमुनी बासँ बस्न बाध्य छौ ।’ उनले अगाढी थपिन् ‘बाढीबाट बाच्यौ तर घरमा खाने कुरा केही नहुदाँ भोकै कसरी बाच्ने ? एक जना दाईले केही चामल, दाल दिएर गएका थिए त्यो सकिन लाग्यो । बाढी आएको ६ दिन सम्म पनि अरु कसैले केही राहत दिएका छैनन् । के खाने समस्या धेरै छ ।’

उता दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकबरका बाढी पिडित पनि भारतको भरमा बाचिरहेका छन् । ‘भारतका सरदारले हामी बाढी पिडितलाई अहिले खाना खुवाइरहेका छन् ।’ दोधारा चाँदनी–१० शान्तिटोलका टिकाराम सार्कीले भने ‘कुतियाकबरका बाढी पिडितलाई भारतले खाना खुवाइरहेको छ ।

यदि भारतले खाना खुवाउन छोडेपछि के खाने सरकारबाट अहिले सम्म कुनै राहत आइपुगेको छैन ।’ यता जिल्ला प्रशानस कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी आशोक भण्डारीले स्थानिय तह मार्फत विभिन्न सहयोगी संस्थाले राहत वितरण गर्ने काम भइरहेको बताए ।

‘गुनासो आए जस्तो खानै समस्या भन्ने अवस्था त छैन तर प्रयाप्त नहुन सक्छ । जिल्लमा बढी क्षती भएको क्षेत्रमा सम्बन्धित स्थानिय तह मार्फत विभिन्न सहयोगी संघ संस्थाले राहत वितरण गरिरहेको अवस्था छ ।’

ताजा समाचार