महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला प्रशिक्षण शाखाको आयोजना तथा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको समन्वयमा आजदेखि दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद गरेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता साउदले लोकतन्त्र सुदृढ गर्न विचार, सिद्धान्त र संगठनात्मक अनुशासनप्रति स्पष्टता र यस्ता प्रशिक्षण आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला कार्यसमिति सभापती पदम बोगटी, सदस्यहरू, स्थानीय तहका प्रतिनिधिहरू, युवा तथा महिला नेतृहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको छ ।
प्रशिक्षणमा पार्टीको सिद्धान्त, संगठनात्मक संरचना, कार्यपद्धति, समसामयिक राजनीतिक परिप्रेक्ष्य तथा नेतृत्व विकास सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिने बताइएको छ ।
कार्यक्रमको समुचित व्यवस्थापन नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले गरेको हो भने समन्वय केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत गरिएको हो ।