वीरगञ्जमा ६ करोडको लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ६ करोडभन्दा बढी रकम खर्च गरेर अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र तयार पारेको छ । ६ करोड २२ लाख रुपैयाँमा तयार पारिएको ग्रिनहाउस हस्पिटल वेष्ट म्यानेजमेन्ट सेन्टरमा वीरगञ्जमा सन्चालित अस्पताल, क्लिनिक र ल्याबबाट निस्किने फोहोर व्यवस्थापन गरिन्छ ।

सेन्टरको उद्घाटन गर्दै वीरगञ्ज नगरपालिकाका प्रमुख विजय सरावगीले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि सेन्टर स्थापना गरेर महानगरले ठूलो उपलब्धि हासिल गरेको दाबी गरे ।

नगवामा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न अमृत जलुकेनी जेभी बालाजु काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । महानगरपालिका योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीका अनुसार अस्पतालजन्य फोहोरलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने उद्देश्यले सेन्टर तयार गरिएको छ । ‘अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि हामीले प्रयोग गरेको प्रविधि भनेको ग्रिन टेक्नोलोजी हो । इन्सिलेटर प्रविधिमा धुवाँ आउँछ, त्यसले वायु प्रदूषण गर्छ । ग्रिन टेक्नोलोजीमा वायु प्रदूषण पनि हुँदैन, इनर्जी पनि कम खान्छ,’ इन्जिनियर अधिकारीले भने ।

सेन्टरमा टक्सिक (अतिसंक्रामक) फोहोरलाई डिसइन्फेक्सन गरेर ननटक्सिक बनाइन्छ । त्यसका लागि ३ सय ५० लिटर क्षमताका द्ुईवटा ‘अटो क्लेभ’मेसिन राखिएको छ । अटो क्लेभ मेसिनले संक्रामक फोहोरलाई डिसइन्फेक्सन गर्छ ।

तत्कालका लागि ल्याण्ड फिल्ड साइट हेर्ने पृथ्वी तारा एनके इन्टरनेशनलाई नै यसको व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । पछि सार्वजनिक निजी साझेदारी अवधारणामा ठेक्का लगाउने तयारी महानगरले गरेको छ ।

ताजा समाचार