रोजगारीका लागि भारत गएकाहरु धमाधम स्वदेश फर्किदैँ भन्छन् ‘कोरोनाको डरले घर फर्कियौँ’

महेन्द्रनगर । अछामको ढकारीका पल्या दमाई रोजगारीका लागि गत मंसिरमा भारतको देहरादुन गएका थिए । घरको आर्थिक समस्या र परिवारका आवश्यकता पुरा गर्न भारत पुगेका दमाई बुधबार पश्चिमी सीमा नाका गड्डाचौकीमा भेटिए ।

काधँमा सानो कपडाको झोला भिरेर कोरोना परिक्षणका लागि नाकामा लाइनमा उभिएका दमाईले भारतमा कोरोना संक्रमण बढिरहेको र लकडाउन हुने हल्ला भएको सुन्दा काम छोडेर घर फर्र्किएको बताए । ‘अहिले भारतमा नयाँ किसिमको कोरोना देखिन लागेको छ ।’दमाईले भने ‘र अझ लकडाउन हुन्या हल्ला छ । पोहोर साल (गत वर्ष) पनि हाम्रा गाउँका धेरै लकडाउनमा फसेर दुखा पाएका थिए । त्यही कोरोना र लकडाउन मा फसौला भनेर भारत गएको एक महिनामै काम छाडेर फर्कियौँ ।’

बाजुराका मनोज रोकाया पनि धन कमाउन भारत गएको ५ महिना मात्र भएको थियो । ‘धन कमाउन दिल्ली ५ महिना अगाडी गएको थिए ।’ रोकायाले भने ‘तर के गर्ने अझ यो कोरोना भारतमा धेरै बढ्यो । दिल्लीमा २÷३ दिन लकडाउन पनि भयो,अझ हुने हल्ला सुनेर डरले घर फर्किए ।’

मुगुकी रुपा बिक पनि बुधबार नाकामा भेटिएन । भारतमा लेवरको काम गरेर घरपरिवार धानेकी विक पनि कोरोनाका क्रासले स्वदेश फर्किइन् । ‘अहिल इण्डियामा कोरोना रोग धेरै फैलिएको छ ।’ उनले भनिन् ‘त्यसैले यहाँ रोगले मर्नु भन्दा जे खाएपनि गाउँघरमै खाएर बसौला भनेर छोडेर घर फर्किए ।’

यस्तै अछामका शिवराज साउँद पनि भारत गएको धेरै समय भएको छैन । गत वर्ष लकडाउनका कारण भारतमै फसेको र बल्लतल्ल स्वदेश घर पुगेको सम्झदै अहिले समयमै घर फर्किएको उनले बताए । ‘गत वर्ष म र मेरा साथीहरु भरतमै लकडाउनमा फसेका थियौँ ।’ साउँदले भने ‘अहिले पनि आगो जस्तै भारतमा कोरोना फैलिरहेको छ र लकडाउन हुने भन्ने खबर सुनेर डरले घर फर्किएको हु ।’

५ दिनमा झन्डै ८ हजार जना स्वदेश फर्किए, ६८७ जनामा कोरोना पुष्टि

कञ्चनपुरका सीमानाका बाट मात्रै पछिल्ला ५ दिनमा झन्डै ८ जना नेपाली स्वदेश फर्किएका छन् । रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली त्यहाँ कोरोना भाइरसको तेस्रो भेरियन्ट संक्रमण बढिरहेकोले ज्यान जोगाउन स्वदेश फर्किन थाल्येका छन् ।

पछिल्लो समय भारतबाट स्वदेश फर्किनेहरुको संख्या ह्वातै बढेको गड्डाचौकी हेल्थ डेक्स इन्चार्ज तर्कराज भट्टले बताए । ‘भारतमा कोरोना संक्रमण बढेकाले अहिले त्यहाँबाट नेपाल फर्किनेहरुको संख्या ह्वातै बढेको छ ।’ भट्टले भने ‘गड्डाचौकी नाकाबाट पछिल्ला ५ दिनमा मात्रै ४ हजार १ सय १४ जना नेपाली स्वदेश फर्किएका छन् ।’ उनले अगाडी थपे ती मध्ये ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’

यस्तै जिल्लाको त्रीनगर नाकाबाट पनि पछिल्ला ५ दिनमा ३ हजार ६ सय ७४ जना स्वदेश फर्र्किएको त्रीनगर हेल्थ डेक्स इन्चार्ज गणेश साउँदले बताए । ‘अहिले यो नाकामा नेपाल फर्किनेहरुको संख्या बढ्दै गएको छ ।’ उनले भने ‘५ दिनमा ३ हजार ६ सय ७४ जना स्वादेश फर्किकामध्ये ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’ उनले अगाडी थपे ‘भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको र लकडाउन हुने डरमा त्यहाँका नेपाली नागरीक स्वदेश फर्किरहेका छन् ।’

नाकामा स्वदेश फर्किने सबैको कोरोना परिक्षण गरिएपनि कोरोना सुदायमा फैलिने जोखिम भने रहेको भट्टले बताए । ‘नाकामा सबैको कोरोना परिक्षण भएपनि संक्रमितहरु भाग्ने तथा होम आइसोलेसनमा राख्दा समुदायमा कोरोना संक्रमणको जोखिम बढेको छ ।’

होल्डिङ सेन्टर निर्माणको काम अधुरै, संक्रमित व्यवस्थापनमा चुनौती

पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । दैनिक कम्तीमा पनि एक सय जनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरु पनि स्वदेश फिर्ता हुन थालेपछि असावधानीका कारण संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।

कञ्चनपुरसँग सीमा जोडिएको नाका भएर आउने संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि महेन्द्रनगरमा एक हजार बेडकोे होल्डिङ सेन्टर निर्माण भइरहेको छ । तर नेपाली सेनामार्फत संघीय सरकारले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम भने अधुरै छ ।

नेपाली सेनाबाट होल्डिङ सेन्टर निर्माणका लागि २९ करोड २४ लाख रुपैयाँमा ठेक्का पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले बजेट अभावका कारर्णे काम लम्बिएको बताए ।

‘नेपाली सेनासँग ६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भएर हामीले होल्डिङ सेन्टर निर्माणको काम अगाडि बढाएका थियौं तर समयमै बजेट नपाउँदा समस्या भइरहेको छ,’ सापकोटाले भने, ‘अझै बजेट प्राप्त नभएकोले थप समय लाग्न सक्छ ।’ उनकाअनुसार अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ ।

‘अहिले ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’ उनले भने ‘कोरोना बढिरहेकोले १/२ दिनमा ५ सय बेड पूर्णरुपमा तयार गरि हस्तान्त्रण गर्न हामी सक्छौ । तर बाकीँ बजेट प्राप्त नभए समय लाग्ने छ ।’ नेपाली सेनाले समयमै बजेट दिएमा ढिलाइ नहुने दावी निर्माण व्यवसायीको छ ।

होल्डिङ सेन्टर निर्माणमा ढिलाइ भएपछि कोरोना संक्रमितको व्यवस्थापनमा चुनौती थपिएको छ । महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले कोरोना संक्रमित दिनप्रतिदिन बढिरहेकोले व्यवस्थापनमा समस्या रहेको बताए । ‘महाकाली अस्पतालमा ५० बेडको क्षमता छ ।’ उनले भने ‘यहाँ दैनिक ७०/८० जना संक्रमित आउँछन् । र यहाँबाट केही संक्रमित भाग्नेपनि गरेका छन् । होल्डिङ सेन्टर भएको भए सहज हुने थियो ।’

होल्डिङ सेन्टर निर्माणमा भइरहेको ढिलाइले संक्रमितहरु धमाधम गाउँ पठाइन थालेपछि समुदाय स्तरमा ओमिक्रोन फैलिने जोखिम बढेको छ ।

ताजा समाचार