चुनाव जितेपछि जनताको घरदैलोमा भीमदत्तका मेयर,उपमेयर

महेन्द्रनगर । चुनाव हुनुभन्दा पहिले सबै नेताहरू जनताको घरदैलोमा भोट माग्न जान्छन् । चुनाव जितेपछि भने धेरै नेताहरु जनतालाई बिर्सिछन् ।

यद्यपी कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी,उपमेयर निलम लेखक जोशी भने चुनावपछि जनताको घरदैलोमा पुगिरहेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर बोगटी र उपमेयर लेखक चुनावमा विजयी बनाउने सबै मतदाता, शुभेच्छुक, शुभचिन्तक हरुलाई धन्यवाद दिन र उनिहरुका समस्या सुन्न जनताको घरदैलोमा पुग्ने गरेका छन् ।

जनताको घरदैलोमा गएर उनिहरु जनताका समस्या र आवश्यकता बारे बुझने गरेका छन् । नगरपालिकाको निति तथा कार्यक्रममा जनताका समस्यार आवश्यकतालाई समावेश गर्न जनताको घरदैलोमा पुगिरहेको मेयर बोगटीले बताए ।

‘केही दिन पछि नगरपालिकाले निति तथा कार्यक्रम ल्याउदैँ छ ।’ उनले भने ‘जनताका समस्या र आवश्यकतालाई निति तथा कार्यक्रमा समावेश गर्न हामी जनताको घरदैलोमा गएर उहाँहरुलाई धन्यवाद सहित उनिहरुका समस्या सुन्ने गरेका छौ ।’

मेयर बोगटीले चुनावमा कुनै पार्टीको चिन्ह लिएर लडेपनि अब कसैलाई पक्षपात नगरी ५ बर्ष जनताले महसुस गर्ने गरी काम गर्ने बताए ।

उनकाअनुसार भीमदत्तको समग्र विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्छ । मेयर,उपमेयर हालसम्म वडा नम्बर ३,६,१०,५,२,११,१२,१६ र १७ का जनताको घरदैलोमा पुगिसेका छन् ।

ताजा समाचार