भीमदत्तद्धारा श्वेत पत्र सार्वजनिकः नगरपालिकाले झण्डै ४० करोड रकम तिर्न बाकीँ (पूर्ण पाठसहित)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरको आर्थिक श्वेत पत्र जारी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरि नगरपालिकाले नगरको आर्थिक अवस्थाका बारेमा श्वेत पत्र जारी गरेको हो ।

भीमदत्त नगरपालिकाले जारी गरेको आर्थिक श्वेत पत्र अनुसार अघिल्लो स्थानिय सरकारका पालमा नगरपालिकाले ३९ करोड, ३३ लाख, ८८ हजार,८ सय ३८ रुपैया तिर्न बाकीँ रहेको छ ।

अघिल्लो सरकारका पालामा नगर भीत्रका भए गरेका सम्पूर्ण गतिविधिहरुको बारेमा जानकारी लिदाँ आफुहरुले कार्यभार सम्हाल्दाका बखत नगरपालिकाले ३९ करोड ३३ लाख ८८ हजार ८ सय ३८ रुपैया तिर्न बाकीँ रहेको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवम् नगर प्रवत्ता महेन्द्र खड्काले बताए ।

‘नगरपालिकाको पूँजिगत तर्फ हालसम्मको भुक्तानी गर्न बाकीँ रकम नगरपालिकाको प्रशासनिक भवनको संघबाट प्राप्त हुने सम्पुरक रकम रु ६ करोड ७५ लाख बाहेक कुल पूँजिगत तिर्न बाकीँ रकम ३८ करोड ६८ लाख ४१ हजार ९ सय ९८ रहेको छ ।’ उनले भने ‘र चालु (दायित्व) तिर्न बाकीँ रकम रु ६५ लाख ४६ हजार ८ सय ४० गरि जम्मा ३९ करोड ३३ लाख ८८ हजार ८ सय ३८ रुपैया नगरपालिकाले तिर्नुपर्ने छ ।’

उनले अगाडी थपे ‘यस बाहेक अरु कुनै दायित्व भए छानविनको क्रममा आउन सक्ने भएकोले सो बारेपनि पछि सार्वजनिक गर्नेछौँ ।’ तिर्नुपर्ने रकममध्ये बढी निर्माण कम्पनीलाई रहेको प्रवत्ता खड्काले बताए ।

उनकाअनुसार अघिल्लो सरकारका पालामा इन्धन तथा मर्मतखर्चमा पारदर्शीता नअपनाएको,,स्रोतको (बजेट) सुनिश्चितता नगरि बोलपत्र आव्हन गरि ठेक्का पट्टा गरिएको,स्रोतले धान्नै नसक्ने गरि डिपिआर बनाउन रकम खर्च गरिएको,स्रोतले धान्नै नसक्ने गरि कर्मचारी भर्ना गरिएको र विकास निर्माणका काम ठुलो मात्रामा कोटेशन मार्फत गराइएकोले नगरपालिकालाई आर्थिक भार परेको हो ।

नगर प्रवत्ता खड्काले अब आफुहरु नगरपालिकाले तिर्नुपर्ने उक्त रकम तथा दायित्वलाई आन्तरिक स्रोतले मात्रै धान्न नसक्ने हुदाँ संघ र प्रदेश सरकार संग पहल गर्दै वित्तिय दायित्वलाई क्रमश घटाउदैँ आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए ।

यस्तै नगरपालिका भित्र भएका अनियमितालाई छानविनको दायरामा लयाएर पारदर्शीता तथा सुशासन कार्यम गर्ने,अघिल्लो सरकारले गरेका असल कामलाई निरन्तरता दिने,बोझिलो कर्मचारी संयन्त्रका कारण नगरपालिकालाई परेको आर्थिक भारलाई न्यून गर्न संगठन सर्वेक्षण अनुसार आवश्यकता र औचित्यको आधारमा दरवन्दि पुनरावलोकन गरिने नगर प्रवत्ता खड्काले बताए ।

यस्तै नगरप्रमुख पदम बोगटीले नगरपालिकाले तिर्नुपर्ने उक्त रकमले आगामी योजना तथा कार्यक्रममा पार्ने प्रभावलाई मध्यनजर गर्दै जतिसक्दो छिटो तिर्नुपर्ने दायित्व घटाउन संघ र प्रदेश सरकार संग पहल गर्ने बताए । ‘यो तिर्नुपर्ने रकमले आगामी योजना कार्यक्रममा पार्न प्रभावलाई मध्यनजर गर्दै जति सक्दो छिटो तिर्नुपर्ने दायित्व घटाउन संघ र प्रदेश सरकार संग पहल गर्छौ ।’ उनले भने ।

अहिले नगरकार्यपालिकामा मेयर,उपमेयर, १२ वडाध्यक्ष सहित नेपाली काँग्रेसको बहुमत छ । यसअघि एमालेका सुरेन्द्र विष्ट नेतृत्वमा एमालेको बहुमत रहेको थियो ।

भीमदत्त नगर कार्यपालिका द्धारा जारी
श्वेत पत्र


आदरणीय नगरबासी दिदी बहिनी तथा दाजु भाइहरु ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात सम्पन्न भएको स्थानीय तहको दोस्रो निर्वाचनमा हामी लाई आशा, भरोसा र विश्वास गरी नगर प्रमुख , उप–प्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुलाई बहुमतका साथ विजयी गराई भीमदत्त नगरपालिका को सरकार संचालन गर्ने जिम्मेवारी प्रदान गर्नु भएकोमा पुनः सम्पूर्ण मतदाताज्यूहरु, शुभेच्छुक मित्रहरु तथा निर्वाचन स्वतन्त्र, निष्पक्ष तथा शान्ती पूर्ण ढंगले सम्पन्न गर्न सहयोग गर्नु हुने मुख्य निर्वाचन अधिकृत ज्यू, निर्वाचनमा संलग्न सम्पूर्ण कर्मचारीहरु, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रतिनिधि, संचारकर्मी, नागरिक समाज लगायत सबै प्रति सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुका तर्फ बाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु । साथै भविष्यमा पनि यहाँहरुको साथ सहयोग र मार्ग निर्देशन पाइनै रहने अपेक्षा पनि गर्दछौ ।
आदरणीय दिदी वहिनी तथा दाजु भाइहरु ।
यहाँहरुले हामी प्रति दर्शाएको अपार स्नेह, विश्वास र भरोसा गरी आगामी ५ वर्षका लागि भीमदत्त नगरपालिकाको सर्वाङ्गीण विकास गर्ने, नगरबासीहरुको हक हितका लागि काम गर्ने अभिभारा दिनु भएको छ । यहाँहरुको अमूल्य अभिमतको कदर गर्दै हामीलाई सुम्पेको जिम्मेवारी इमान्दारी पूर्वक पुरा गर्ने वचन वद्धता गर्दछौ । हाम्रो मुख्य ध्येय सुशासन (मितव्ययिता, प्रभावकारिता र पारदर्शिता), दिगो विकास र गुणस्तरीय सेवा प्रवाह नै रहेको छ । हाम्रो यो लक्ष्य पुरा गर्न नगरपालिका परिवार मात्र नभइ सम्पूर्ण नगरवासी दिदी बहिनी ,दाजुभाई नागरिक समाजको निरन्तर सल्लाह र सहयोगका साथै नागरिक समाज, संघीय तथा प्रदेश सरकार, सरकारी एवं गैर सरकारी संघ संस्था तथा विभिन्न दातृ निकायको साथ एवं सहयोग पनि अति आवश्यक हुने भएकोले यसका लागि नगरपालिका ले सहभागिता मूलक विकासका लागि सबै निकाय सँग आवश्यक समन्वय र साझेदारी गर्दै अगाडी बढ्ने नै छ । भर्खरै मात्र स्थानीय निर्वाचनका सम्पूर्ण प्रकृयाहरु सम्पन्न भएका छन् । हामीले नगरपालिका को कार्य भार सम्हालेको पनि थोरै दिन भएको छ । नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ मा भएको व्यवस्था अनुसार आउँदो आषाढ १० गते भित्र स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरिसक्नु पर्ने भएकोले हाम्रो सम्पूर्ण ध्यान नीति कार्यक्रम तथा बजेट निर्माणमा केन्द्रित गर्नुपर्ने जिम्मेवारी एकातिर छ भने अर्को तर्फ पूर्ववर्ति स्थानीय सरकारका पालामा नगरपालिका भित्र भए गरेका सम्पूर्ण गतिविधिहरुका वारेमा जानकारी लिइ हामीले कार्यभार सम्हाल्दाका वखतको सम्पूर्ण अवस्थाका वारेमा यसै श्वेत पत्र मार्फत समयमा नै सार्वजनिक गरि जानकारी गराउनु हाम्रो कर्तव्य हुन आउँछ । त्यसैले हामीले छोटो समय मै भए पनि नगरपालिकाको स्थायी संयन्त्र बाट पाएको जानकारी अनुसार नगरपालिकाको वर्तमान अवस्था आर्थिक रुपबाट सुखद मान्न सकिदैन । जसका केही उदाहरण संक्षिप्त रुपमा यहाँ प्रस्तुत गर्दछु ।
भीमदत्त नगरपालिका को पूजिगत तर्फ हाल सम्मको भुक्तानी गर्न बाकी रकम प्रशासनीक भवनको संघ बाट प्राप्त हुने सम्पूरक रकम रु ६,७५,०००००। (छ करोड पचहत्तर लाख)बाहेक कूल पूजिगत (दायित्व) तिर्न बाकी रकम रु.३८,६८,४१,९९८ । –अठतीस करोड अठसट्ठी लाख एकचालीस हजार नौ सय अन्ठानब्बे) र चालु (दायित्व) तिर्न बाकी रकम रु.६५,४६,८४०। – (पैसठ्ठी लाख छयालीस हजार आठ सय चालीस) गरी जम्मा (दायित्व) कुल तिर्न बाकी रकम रु. ३९,३३,८८,८३८। (रु उनानचालिस करोड तेत्तीस लाख अठासी हजार आठ सय अठतीस ) रहेको छ ।
यस वाहेकको अरु कुनै दायित्व भए छानविनको क्रममा आउन सक्ने भएकोले यस वारे पछि सार्वजनिक गरिने नै छ ।
यसरी हेर्दा भीमदत्त नगरपालिकाको पूर्ववर्ति स्थानीय सरकारका पालामा देहाय अनुसार भए गरेको पाइएकोले नगरपालिकालाइ थप आर्थिक व्यय भार परेको कुरा जानकारी गराउनु चाहन्छु । (
१. श्रोत(बजेट) को सुनिश्चितता नभइ वोलपत्र आव्हान गरी ठेक्का पट्टा गरिएको ।
२. पटक पटक ठूलो आकारमा रकमान्तर गरिएको ।
३. श्रोतले धान्नै नसक्ने किसिमका आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (म्एच् ) बनाउन रकम खर्च गरेको ।
४. नगरपालिकाको आन्तरिक स्रोेतले धान्नै नसक्ने गरी कर्मचारी भर्ना गर्दा नगरपालिका लाई थप व्यय भार पर्न गएको ।
५. इन्धन र मर्मत खर्चमा मितव्ययिता तथा पारदर्शिता नअपनाएको ।
६. विकास निर्माणका काम ठूलो मात्रामा कोटेशन वाट गराइएको ।
हाम्रो आगामी लक्ष्य देहाय अनुसार रहने छ ।
१. नगरपालिका को तिर्नु बाँकी नियम संगत रकम तथा दायित्वलाई आन्तरिक स्रोतले मात्रै धान्न नसक्ने हुँदा यसका लागि संघ तथा प्रदेश सरकार संग पहल गर्दै वित्तीय दायित्व लाई क्रमशः घटाउँदै आवश्यक निर्माणका कार्यक्रमहरु संचालन गर्दै जाने ।
२. नगरपालिका भित्र भएका अनियमितता लाई छानविनको दायरामा ल्याई पारदर्शिता तथा सुशासन कायम गर्ने ।
३. पूर्ववर्ति स्थानीय सरकारले गरेका असल कामलाई निरन्तरता दिदै जाने ।
४. बोझिलो कर्मचारी संयन्त्रका कारण नगरपालिकालाई परेको आर्थिक व्ययभार लाई न्यून गर्न संगठन सर्वेक्षण (इ७ः) अनुसार आवश्यकता र औचित्यको आधारमा दरवन्दी पुनरावलोकन गरिने छ । साथै आवश्यक कर्मचारी योग्यता प्रणालीका आधारमा मात्र भर्ना गरिने छन् ।
५. भ्रष्टाचारमा शून्य शहनशीलताको नीति अपनाइने छ ।
६. नगरपालिका भित्र र पालिका अन्तर्गतका १९ वटै वडाबाट सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सहज र सरल रुपमा सेवा प्रदान गरिने छ । कहिँ कतै सेवा प्रवाहमा अनावश्यक झन्झट गरी सेवाग्राहीलाई नियतवस दुःख दिन खोजे सम्बन्धित कर्मचारी लाई नियमानुसार आवश्यक कारवाही गरिने छ, यसका लागि पालिकामा हेल्प डेस्क, टोल फ्री नम्बर र उजुरी पेटीकाकोे व्यवस्था गरिनेछ ।
हाम्रो उपरोक्त लक्ष्यका अतिरिक्त निकट भविष्यमा हुन गइरहेको नगरसभा मार्फत हाम्रो नीति, कार्यक्रम आउने नै छ । आगामी वर्ष जनचाहना र हाम्रो प्रतिवद्धता अनुसार विकास निर्माणका कार्यक्रम संचालन गर्न चुनौती देखिए पनि विभिन्न निकाय सगँ समन्वय गरी यस चुनौतीको सामना गर्दै जनहित एवं विकाश निर्माणका काम गर्दै अघि वढी यस अभियानमा सम्पूर्ण नगरवासीहरु, नागरिक समाज तथा आम संचार माध्यमको साथ र सहयोग रहने अपेक्षा गरेका
छौ ।
धन्यवाद ।


महेन्द्र खडका

प्रवक्ता
भीमदत्त नगरपालीका

मिति २०७९।०३।०५

ताजा समाचार