महेन्द्रनगर । पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।
उनले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेका हुन् ।दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । परमाणु बमले कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । तर हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको बीबीसी नेपाली सेवाको एक रिपोर्टमा उल्लेख छ ।जापान भ्रमणको लागि माओवादी अध्यक्ष प्रचण्ड यही साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनीसँग छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्मा लगायत छन् ।