निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : चन्द

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार शारदा चन्दले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छन्।

‘२४ घण्टाभित्र निर्मलाका हत्यारालाई पत्ता लगाउने वाचा गरेका शेरबहादुर दाई प्रधानमन्त्री भएपछि आफ्नो वाचा बिर्सनुभयो,’ मंगलबार पत्रकार सम्मेलनमा चन्दले भनिन्,’

‘सत्तामा पुग्न देउवाले पन्त हत्या प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु भयो। उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।’प्रधानमन्त्री देउवालाई दुई पटक निर्मलाको आमासँग भेटाएको स्मरण गर्दै चन्दले त्यो भेटमा देउवाले आफूसँग २४ घण्टाभित्रै हत्यारा पत्ता लगाउने वाचा गरेको बताइन्।

‘उहाँ प्रधानमन्त्री भएको पनि लामो समय भइसक्यो,’ उनले भनिन्, ‘निर्मलाले न्याय पाएकी छैनन्, प्रधानमन्त्री ज्यूले नैतिक रुपमा राजीनामा दिनुपर्छ।’स्वतन्त्र उम्मेदवार चन्दले निर्मला पन्तको लाशमाथि राजनीति गरिएकोमा आक्रोश पोखिन।

उनले प्रधानमन्त्री देउवाले कुर्सी बचाउन केही नबोलेको आरोप पनि लगाइन।‘देउवाजीले पनि कुर्सी बचाउनु छ, नत्र अहिले पनि निर्मलाका कपडा, साइकल र कापी किताब प्रहरी कार्यालयमा छन्,’ उनले भनिन्, ‘त्यसको वैज्ञानिक परीक्षण गरी हत्यारा पत्ता लगाउने कार्य किन हुन सकेको छैन?

’राजनीतिक दलले सत्ता जोगाउने र सत्ता प्राप्तिलाई पन्तको हत्या काण्डसँग जोडेको चन्दको भनाई छ।

भीमदत्त नगरपालिका–२ की पन्तको २०७५ साउन १० गते भगतपुरमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो।त्यसपछि अधिकारकर्मी चन्दसहित स्थानीयको सहभागितामा आन्दोलन गरिएको थियो।

तत्कालिन नेकपा नेतृत्वको सरकारले हत्यारा लुकाएको भन्दै काँग्रेसले देशव्यापी आन्दोलन गरेको थियो।अधिकारकर्मी चन्दले पन्त हत्याकाण्डमा दलीय मिलेमतो देखेपछि आफू स्वतन्त्र भएर उम्मेदवार बनेको बताइन।काँग्रेस महाधिवेशन प्रतिनिधि चन्द पार्टी छाडेर स्वतन्त्र उम्मेदवार भएकी छन्।

अढाई दशकदेखि सामाजिक सेवामा सक्रिय उनी क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी प्रचारमा सक्रिय भएकी छन्। क्षेत्र ३ मा चन्दसँगै नेपाली कांग्रेसका रमेख लेखक र एमालेकी निरुदेवी पाल चुनावी दौडमा छन्।

ताजा समाचार