महेन्द्रनगर । नेकपा एमालेका प्रतिनिधि सहभागी नभएपछि बाजुरामा मतगणना सुरु गर्न बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ।
बिहीबार बिहान ७ बजे बसेको सर्वदलीय बैठकमा एमालेका प्रतिनिधि उपस्थित भएनन्। तर, सहमतिको प्रयास जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए।
निर्वाचन आयोगले बुधबार बाजुरामा मतगणना गर्न कार्य अगाडि बढाउन निर्देशन दिएको थियो।
मतदानको दिन त्रिबेणी–७ मा हत्या गरिएका एमाले निकट अनेरास्ववियुका नेता चेतन ऐडीको घटनामा संलग्न दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै एमाले आन्दोलनमा छ।
मतदानको दिन भएको घटनाको सत्य, तथ्य छानविन गरेर दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग एमालेले राखेको छ।
मतदानको दिन बाजुराका २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो।
निर्वाचन आयोगको निर्णय पश्चात् उक्त अन्योलता हटेपनि मतगणना भने सुरु हुन नसकेको हो।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।
मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।
नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएका थिए। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो। बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्।