कैलालीमा लघुवित्त संस्थाविरुद्ध ऋणीहरुले चर्को ब्याज असुलेको आरोप

महेन्द्रनगर।  कैलालीमा लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध ऋणीहरु आन्दोलित भएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले चर्को ब्याज असुलेर दुःख दिएको उनीहरुको आरोप छ ।

गौरीगंगा नगरपालिका क्षेत्रमा सक्रिय भएका लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी रुपमा १८ प्रतिशतसम्म ब्याज असुल्न थालेको ऋणीहरुको आरोप छ ।

नगरपालिकाका सबै वडामा हस्ताक्षर संकलन गर्दै लघुवित्त संस्थाको खारेजीको माग पनि उनीहरुले गरेका छन् । गाउँमा पुगेर बचत समूह गठन गर्दै लगानी गर्ने लघुवित्त वित्तीय संस्थाले मनलाग्दी रुपमा ब्याज लिन थालेपछि मर्कामा परेको गौरीगंगा नगरपालिका–४ की बासुदेवी सुनारले गुनासो गरिन् ।

बासुदेवी सुनार
लघुवित्त सहकारीले वार्षिक १८ प्रतिशतसम्म ब्याजमा ऋण दिने गरेका छन् । ‘एक लाख रुपैयाँ ऋण लिंदा सेवा शुल्क र बिमा शुल्क काटिएको भनेर हामीलाई ९० हजार मात्र दिइन्छ तर ब्याज लिंदा एक लाखकै लिने गरेका छन्,’ सुनारले भनिन्, ‘३र४ महिनामा सावाँ रकम चुक्ता गरेपनि उहाँहरुले वर्षभरीकै ब्याज हामीबाट लिइरहनुभएको छ ।’ उनले ब्याज चर्को हुँदा लघुवित्तबाट लिएको ऋण तिर्न महिलाहरुलाई निकै समस्या परेको बताइन् ।

ऋण तिर्न नसकेर कतिपय डिप्रेसनको सिकार भएर आत्महत्या गर्ने सम्मको अवस्था सिर्जना भएको बताउँदै उनले महिला सशक्तिकरणका लागि भनेर आएका लघुवित्तहरुले घरबार विहीन बनाउने काम गरेको आरोप पनि लगाइन् ।

स्थानीय नरे सुनार
अर्का स्थानीय नरे सुनारले आर्थिक समस्याका कारण लघुवित्तबाट ब्याजमा पैसा लिने गरेको तर लघुवित्तले ऋण लगानी गर्ने बेलाको भन्दा फरक व्यवहार देखाउँदै अनावश्यक दुःख दिने गरेको बताए ।

‘एक लाख रुपैयाँ ऋण काढेपछि ९० हजार रुपैयाँ मात्र पाइन्छ । बीमा र सेवा शुल्कको ब्याज पनि हामीले नै तिर्नुपर्छ । एउटा किस्ता पनि तिर्न नसके महिला समूहरुले घर घेराउ गर्ने, अनावश्यक टर्चर दिने गरिरहेका छन्,’ सुनारले भने, ‘ब्याज बढी भएकैले ऋण तिर्न नसक्दा मेरा छोराबुहारी नै बेपत्ता छन् । राज्यले यी लघुवित्तलाई नियमन गर्नुपर्दैन र रु’

गौरीगंगा नगरपालिका–४ की एकल महिला इन्द्रकला कुँवरले बुहारीले लघुवित्तले गाउँमा गठन गरेका महिला समूहबाट लिएको एक लाख रुपैयाँ ऋण तिर्न नसक्दा ब्याज मात्र ८० हजार पुगेको सुनाइन् । आफू र बुहारीले समूहबाट लिएको ऋण तिर्न नसकेपछि ५ कठ्ठा जग्गा लिलाम भएको बताइन् ।

इन्द्रकला कुँवर
स्थानीयकाअनुसार चौमाला क्षेत्रमा कार्यालय स्थापना गरेर बसेका फवार्ड माइक्रो फाइनान्स, किसान बहुउद्देश्यीय, युनिक नेपाल, छिमेकी लघुवित्त वित्तिय संस्थाहरुले गाउँ–गाउँमा पुगेर महिला समूहहरु गठन गर्ने गरेका छन् । सोही समूह मार्फत समुदायमा लगानी गर्दै आएका लघुवित्तहरुले बचत गर्दा ८ प्रतिशतसम्म ब्याज दिने गरेका छन् भने ऋण लिनेहरुबाट १८ प्रतिशतसम्म ब्याज लिंदै आएका छन् ।

वित्तीय संस्थाहरुले चर्को ब्याज असुल्न थालेपछि ऋणीहरु मर्कामा परेको र घरबास विहीन हुने अवस्थामा आएको भन्दै स्थानीय युवा सुवास कुँवरको नेतृत्वमा ऋणीहरु आन्दोलित भएका छन् । कुँवरले लघुवित्त संस्थाहरुले चर्को ब्याज लिएर स्थानीयलाई ऋणी बनाउने काम गरेको भन्दै त्यसविरुद्ध हस्ताक्षर संकलनदेखि अन्य दबाबमुलक कार्यक्रम गरिरहेको बताए ।

स्थानीय सुवास कुँवर
‘सरकारले लघुवित्त सहकारीहरुले मनलाग्दो रुपमा १८ देखि २० प्रतिशत ब्याज लिदा पनि अनुगमन र नियमन नगरिदिंदा गाउँका दिदी बहिनीहरुले ऋण तिर्न नसक्दा विभिन्न खालका समस्या भोग्नुपरेको छ,’ कुँवरले भने, ‘ऋण काढेकै कारण परिवारमा मनमुटाव भएर हत्या, आत्महत्या गर्नेसम्मको अवस्था सिर्जना भएपछि लघुवित्तहरु ज्यादतीविरुद्ध हामी सडकमा उत्रिएका हौं ।’

तर लघुवित्त वित्तीय संस्थाहरुले भने राष्ट्र बैंकले निर्धारण गरेको सीमा भित्र रहेर समुदायमा लगानी गर्ने गरेको बताउदै जथाभावी रुपमा ब्याज नलिएको दाबी गरेका छन् ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकी प्रमुख गोमती जोराले यसअघि ऋण लगानी गर्दा अग्रिम शुल्क लिने गरेकोमा अहिले उक्त व्यवस्था नरहेको बताइन् । १।५ प्रतिशत सेवा शुल्क र ०।४९ प्रतिशत बीमा शुल्क भनेर लिने गरेको बताउँदै उनले सम्बन्धित व्यक्तिकै इच्छाअनुसार रकम लिने गरेको बताइन् । बचतकर्ता र ऋणीहरुकै सहमतिअनुसार कर्जा परिचालन गर्ने गरेको उक्त संस्थाको भनाइ छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था चौमाला शाखाका प्रमुख हरिप्रसाद जोशीले १८ देखि २० प्रतिशतसम्म ब्याज लिने कुराको आरोपमा सत्यता नरहेको बताए । उनले राष्ट्र बैंकले निर्धारण गरेको सीमा भित्र रहेर कर्जामा साढे १३ देखि १५ प्रतिशतसम्म र ६ देखि साढे ७ प्रतिशतसम्म ब्याज लिनेरदिने गरिएको जानकारी दिए ।

ताजा समाचार