सुदूरपश्चिममा कसको नेतृत्वमा बन्ला सरकार

महेन्द्रनगर । केन्द्रमा राजनीतिक नयाँ समीकरण भएसँगै सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीका नेताहरू मुख्यमन्त्री बन्ने लाइनमा छन्। सुदूरपश्चिम प्रदेश सभामा दोस्रो दल बनेको नेकपा माओवादी केन्द्र र तेस्रो दल बनेको नेकपा एमालेका नेताहरूले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

केन्द्रको समीकरणको आधारमा प्रदेशमा नेकपा माओवादी केन्द्र दोस्रो ठूलो दल भएकाले आफ्नो दलले मुख्यमन्त्री पाउनुपर्ने दाबी समानुपातिकबाट निर्वाचित माओवादीकी जानकी कुवँरको छ।‘हिजो परिस्थिति र अहिले राजनीति परिस्थिति फरक भएको छ। प्रदेशको राजधानी कसरी अगाडि बढ्छ भन्ने कुरा केन्द्रको राजनीति हेरेर हुन्छ, केन्द्रमा प्रचण्ड प्रधानमन्त्री भएर जसरी सुदूरपश्चिममा मुख्यमन्त्री माओवादीले पाउनुपर्छ,’ उनले भनिन्।

पार्टीगत छलफल भएर मुख्यमन्त्री बनाउने काम अगाडि बढ्ने भए पनि आफूलाई मुख्यमन्त्री बनाउनुहोस् भनेर पार्टीमा प्रस्ताव राखेको उनले बताइन्। महिलालाई प्रदेशको मुख्यमन्त्री बनाउन पर्ने कुवँरको भनाइ छ।

‘मेरो आफ्नो दाबी चाहिँ मैले मुख्यमन्त्री बन्छु भनेर प्रस्ताव पार्टीमा राखेकी छु, अहिलेसम्म महिला मुख्यमन्त्री कहीँ पनि भएका छैनन्। प्रदेशको नेतृत्वको जिम्मेवारी एक पटक महिलालाई दिनुहोस् भन्ने कुरा राखेकी छु, म मुख्यमन्त्रीमा सक्षम छु,’ उनले भनिन्।

सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित माओवादीका ११ सासंदमध्ये अधिकांशले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन्।

‘धेरै जना मुख्यमन्त्रीका लागि आंकाक्षी देखिए पनि पार्टीले खगराज भट्टलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउने कुरा छ,’ नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीका सचिव रमेश भट्राईले भने।

उनले प्रदेशको पार्टीको सिनियर नेतालगायत धेरै कारणले मुख्यमन्त्री माओवादीको भागमा परे भट्ट नै बन्ने उनले दाबी गरे। भागबण्डा अनुसार यहाँको सरकार बन्छ, जे भागमा पर्छ त्यो पार्टीले सहजै स्वीकार गर्ने कुरा हुन्छ,’ उनले भने।

यस्तै, सुदूरपश्चिम प्रदेश सभामा तेस्रो दल बनेको नेकपा एमालेका निर्वाचित सासंदहरू पनि मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन्।डोटी प्रदेश सभा १ बाट निर्वाचित एमालेका चक्र मल्लले यसअघि प्रदेशमा माओवादीबाट मुख्यमन्त्री भइसकेकोले अब आफ्नो दलबाट मुख्यमन्त्री हुनुपर्ने धारणा राखे।

‘यस विषयमा नेकपा एमालेभित्र छलफल चलिरहेको छ, म संसदीय दलको नेताका लागि प्रमुख दाबेदार हो, संसदीय दलको नेता भएकाले मुख्यमन्त्रीको पनि म दाबेदार छु, भोलि पार्टीले कसलाई निर्णय गर्ला, तर मेरो प्रस्ताव मुख्यमन्त्रीका लागि छ,’ उनले भने।

उनले यसपालि सुदूरपश्चिममा सरकारको नेतृत्व एमालेले गर्न पाउनुपर्ने बताए। पहिला माओवादीले पाँच वर्षसम्म नेतृत्व गरिसकेको छ, यसपालि नेकपा एमालेलाई त्यो जिम्मेवारी दिनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ,’ उनले भने।

प्रदेशमा नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी २९ प्रदेश सभा सदस्य छन्। प्रदेशमा सबभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९, एकीकृत समाजवादी पार्टीका चार र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

नेकपा एमालेमा संसदीय दलको नेता सहमतिमा बनाउने गरी छलफल अघि बढाउने तयारी भइरहेको छ। सुदूरपश्चिममा नवनिर्वाचित सांसदका लागि यही १५ पुसमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। शपथ ग्रहणसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ।

नेपाली कांग्रेस फेरि प्रमुख प्रतिपक्षी बन्ने सम्भावना सत्ता समीकरणसँगै सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसले फेरि प्रतिपक्षीमै रहनुपर्ने अवस्था आएको छ। नागरिक उन्मुक्ति पार्टी यो प्रदेशमा सरकार बनाउन निर्णायक रूपमा देखिएको छ। प्रदेशमा सरकारमा जाने उसको तयारी छ।

‘टीकापुर घटना केन्द्रको सरकारसँग माग हो, प्रदेशले यो विषयमा पहल मात्रै हो गर्ने, बाँकी प्रक्रिया केन्द्रको हुनाले हामी प्रदेश सरकारमा जाने सम्भावना प्रबल छ,’ नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले भने। केन्द्रमा जस्तै माओवादी र एमालेको समीकरणलाई नै प्रदेशमा नागरिक उन्मुक्तिको समर्थन रहने छ। तर, नेतृत्वको दाबेदार पनि रहेको यो पार्टीले मुख्यमन्त्री दिए कांग्रेससँग पनि सहकार्य हुन सक्ने अर्को मार्ग पनि देखेको छ।

ताजा समाचार