- – बिशाल राना
वोड अफ डाईरेक्टर
एनआरएनए अमेरिका
आज मलाई नेपाल सरकारसँग केही भन्न मन लागेको छ । साँच्चै भन्नुपर्दा रिस उठेको छ । खासगरि मोबाइलको भन्सार लाग्ने सम्बन्धमा । हे नेपाल सरकार, किन हामी परदेशमा भएका नेपालीहरुलाई मात्रै दुःख दिन्छौ ? हामीले घरमा एउटा मोबाइल पनि लिन नपाउने ? बुवाआमा, भाइबहिनीको रहर हुन्छ, राम्रो मोबाइल चलाउने । परदेशमा कमाएपछि केही सस्तो मूल्यमा यतैबाट एउटा मोबाइल लगिदिउँ भन्ने हाम्रो पनि चाहना हुन्छ । तर मोबाइल लिनै नपाउने ? त्यसमै भन्सार लाग्ने र सरकारले जफत गर्ने , यो कस्तो नियम कानुन हो सरकार ?
अब म घर आउन लागेको छु । उता घरवाट वाबा आमा भाई बहिनीहरु भन्छन् , यत्रो बर्षमा परदेशमा बस्नुभयो, हाम्रा लागि जाबो एउटा मोबाईल पनि ल्याइदिनु हुन्न ?
घण्टाको १५/ २० डलर कमाउन सक्नेले एउटा मोबाइल किनिदिन मलाई कुनै पनि समस्या छैन । तर मोबाइलको आधा पैशा जति त भन्सारमै तिर्नुपर्ने ! परदेशमा पसिना बगाएर देशको अर्थतन्त्र बलियो बनाउने परदेशीलाई सधै किन सौताने व्यवहार गर्छौ किन सरकार ? के नेपालीले परदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले तिमीलाई पुगेन सरकार ?
यो रिसले त लाग्छ, सबैलाई रेमिट्यान्स पठाउन बन्द गरौं जस्तो लाग्छ । बरु सबैलाई हुन्डीबाटै पठाउ भनौ झै लाग्छ। यो मेरो मात्र होइन यो आक्रोश ४० लाख परदेशमा बस्ने सबैको हो । जुन दिन नेपाल सरकारले यो नियम हटाएर आफूले प्रयोग गरिरहेकोबाहेक कम्तीमा एउटा मोवाईल बिना भन्सार लान पाउने नियम लागु गर्छ त्यो दिनबाट मात्रै सहि तरिकाले देश र सरकारको हित हुने गरि रेमिट्यान्स गरौं।