नगर प्रमुख बोगटीद्धारा एडिवि अन्तर्गत निर्माणाधिन सडक गुणस्तर बनाउन र सडकमा रहेका पोलहरु हटाउन निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी नेतृत्वको टोलीले महेन्द्रनगर बजारमा निर्माणाधिन सडकको अनुगमन गरेको छ ।

सोमबार नगर प्रमुख बोगटी,उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली,नगर प्रवत्ता महेन्द्र खड्का, वडा नम्बर ४ का वडाध्यक्ष सुशील कुमार भट्ट ,बिडिए डायरेक्टर इन्जिनियर गिरिश चन्द लगाएत निर्माण कम्पनीका इन्जिनियरहरुले क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत(एडिविद्धारा) निर्माणाधिन सडकको अनुगमन गरेका हुन् ।

नगर प्रमुख नेतृत्वको टोलीले सडक निर्माणमा अवरोध गरिएका क्षेत्रको अनुगमन र निर्माणमा अवरोध गर्ने व्यक्तिहरुसंग छलफल गरि सडक निर्माणमा सहजिकरण गर्न आग्रह गरेको भीमदत्त नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुशिल कुमार भट्टले बताए ।

यस्तै निर्माणाधिन सडक एवम् संरचना गुणस्तर बनाउन नगर प्रमुख बोगटी एवम् उपप्रमुख लेखकले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । महेन्द्रनगर बजारस्थित दशरथचन्द चोक, विपि चोक, भगतपुर चोक, मदन चोक, महाकाली अस्पताल अगाडी सडक फुटपात लगाएतका क्षेत्र एवम् संरचनाहरुलाई सुन्दर बनाउन नगर प्रमुख बोगटीले बिडिए डायरेक्टर एवम् निर्माण कम्पनीलाई सुझाव दिएका हुन् ।

यस्तै उनले सडकमा रहेका नेपाल टेलिकम,विद्युत प्राधिकरणका पोलहरु पनि छिट्टै व्यवस्थापन गर्न समेत निर्देशन दिएका छन् ।

ताजा समाचार