महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ ले बाल विकास केन्द्रको भवन निर्माण गरेको छ । वडा नम्बर १७ बाँसखेडास्थित श्री भगवती बाल विकास केन्द्रको भवन ४ लाख लागतमा निर्माण गरिएको वडाध्यक्ष पदम बुडाले बताए । भवन निर्माण हुनुपूर्व जस्तापाताको छानामुनी बालवालिकाले पढ्नु पर्ने वाध्यता थियो ।
हावाहुरी आउँदा बालवालिकाहरुलाई समस्या हुने गर्दथ्यो । सोही कुरालाई मध्यनजर गर्दै भवन निर्माण गरिएको वडाध्यक्ष बुडाले बताए । ‘पहिले जस्तापाताको छानामुनी यहाँका बालवालिकाले पढ्नु पर्ने बाध्यता थियो,पर्खाल,भित्ता नहुदाँ हावाहुरी आउँदा बालबालिका डरले पढ्न नआउने लगाएतका समस्या थिए ।’ वडाध्यक्ष बुडाले भने ‘सोही समस्यालाई मध्यनजर गर्दै सिसिटिभि क्यामेरा जडित भवन निर्माण गरिएको हो ।
’ उनले अगाडी भने ‘भवन निर्माण सहित बालवालिकाहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि भवनको वालमा राष्ट्रिय फुल,जनावर,चरा,रङका चित्र लगाएत एबिसिडि,कखग लेखिएका छन् ।’ आगामी वर्ष बालविकास केन्द्रलाई थप स्तरोन्नती गर्दै एलइडि टिभि, पर्खाल,विभिन्न शैक्षिक सामाग्री,खेलौना समेत राख्ने उनले बताए । हाल उक्त बाल विकास केन्द्रमा २६ जना बालवालिका पढ्न आउछन् ।

