कञ्चनपुर र कैलालीमा औलो (मलेरिया) को उच्च जोखिम

कञ्चनपुर । विश्व औलो (मलेरिया) दिवस कञ्चनपुरमा पनि मनाइयो ।
यो वर्ष “सुन्य औँलो अबको थालनी, नवीनतम कार्य कार्यान्वयनमा लगानी” भन्ने मूल नाराका साथ नेपालमा विश्व औलो दिवस मनाइएको छ ।

आज (मंगलबार) कञ्चनपुरको स्वास्थ्य कार्यालयको आयोजना तथा भीमदत्त नगरपालिका को समन्वयमा विश्व औँलो दिवसको अवसरमा सरोकारवाला निकायहरु संग अन्तरक्रिया गरेर सोही दिनको स्मरणमा यो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ दिवस मनाएको कञ्चनपुर स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए ।

उनका अनुसार ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । यो रोग संक्रमित एनोफिलिज नामक पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका लाग्ने गरेका छन् ।”

संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।

सुदुरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा जम्मा ९४ जनामा औलो रोग बिरामी सक्रमण देखिएको छ । जसमध्य कञ्चनपुरमा २१, कैलालीमा ४३, डडेल्धुरामा २, बैतडीमा ३, डोटिमा ३,दार्चुलामा १,बझाङमा २, अछाममा ११,बाजुरामा ८ जना रहेका छन् ।

त्यस्तै कञ्चनपुर जिल्लाका ९ वटै स्थानिय निकायको आर्थीक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार जम्मा २१ जना विरामी संख्या रहेका छन् । जसमा महाकाली नगरपालिकामा २ जना,भीमदत्त नगरपालिकामा ५ जना, बेदकोट नगरपालिकामा ६ जना, बेल्डाँडी गाउपालिकामा १ जना,शुक्लाफाटा नगरपालिकामा १ जना, कृष्णपुर नगरपालिकामा ४ जना, बेलौरी नगरपालिकामा २ जना, लालझाडी र पुर्नवास नगरपालिकामा भने औलो सक्रमितको सख्या शुन्य रहेको तथ्याङ्कले जनाएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाल सरकारले नेपालमा औलो उन्मूलन गर्न सन् २०२५ सम्मको दिर्घकालिन रणननिती लिएको छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।

ताजा समाचार