भीनपा–१३ सोनापुरटोलमा कृषि हाट बजार संञ्चालन,नगर प्रमुख बोगटीले गरे उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ सोनापुरटोलमा कृषि हाट बजार संचालनमा आएको छ । स्थानिय उत्पादनलाई प्रवद्धन गर्न कृषि हाट बजार संञ्चालनमा ल्याइएको हो ।

शनिवार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले कृषि हाट बजारको उद्धघाटन गरेका छन् । स्थानीय उत्पादन तथा सेवाको खपत एवम् उपभोक्ताहरुलाई सहज, सुलभ गुणस्तरिय दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले हाट बजार संचालनमा ल्याइएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले बताए ।

कृषि हाट बजारको उद्धघाटन गर्दै नगर प्रमुख बोगटीले कृषि हाटबजारले स्थानिय उत्पादनको प्रवद्धन तथा स्थानियहरुको आर्थिक उन्नती र व्यपार गर्न सिकाउने बताए । ‘यस्ता हाट बजारले स्थानिय उत्पादनको प्रवद्धनका साथै किसानहरुको आर्थिक उन्नती हुन्छ ।’ उनले भने ‘यस्ता किसिमका हाट बजारले स्थानियहरुलाई व्यापार कसरी गर्ने भन्ने कुरापनि सिकाउँछ ।’ उनले अगाडी भने ‘त्यसैले यस्ता हाटबजार प्रत्यक वडामा संञ्चालनमा ल्याउन आवश्यक छ ।’

कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशीले उक्त हाट बजारले स्थानिय उत्पादन र कृषकहरुलाई प्रोत्साहन हुने भन्दै निरन्तरता दिन आग्रह गरिन् ।

उक्त कृषि हाट बजार संञ्चालनमा एनएनएसडब्लूएले समेत आर्थिक सहयोग गरेको छ । हाटवारको स्टल निर्माण र व्यवस्थापनका लागि एनएनएसडब्लूएले आर्थिक सहयोग गरेको एनएनएसडब्लूए सुदृढ परियोजना अधिकृत प्रभुनिधी पन्तले बताए । हाट बजार संञ्चालन भएपछि स्थानियहरु खुशी भएका छन् ।

ताजा समाचार