५ दिनदेखि अनशनरत क्रान्तिकारीका नेताहरुलाई भेट्न मदनचोक पुगे नगरप्रमुख बोगटी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले महेन्द्रनगरस्थित मदनचोकमा ५ दिनदेखी अनशरत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुसंग भेट गरेका छन् ।

विहिवार दिउँसो नगरप्रमुख बोगटी, उपप्रमुख नीलम लेखक जोशी, नगरप्रवक्ता महेन्द्र खड्का, वडा नम्वर ४ का वडाध्यक्ष सुशिल कुमार भट्ट, वडा नम्वर १७ का वडाध्यक्ष पदम बुडा, भीमदत्त नगरपालिकाका प्रशासकिय अधिकृत हरिसिंह धामी लगाएतको नगरपालिकाको टोलीले अनशनरत नेताहरुलाई अनशनस्थल मदन चोक पुगेर भेट गरेका हुन् ।

तत्कालिन महेन्द्रनगर विकास समितिको जग्गा घोटालामा संलग्न गिरोहलाई छिटो कानुनी कारर्वाही गर्नुपर्ने माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता दिपेन्द्र सिंह ऐरी, जय बहादुर रोकाया र निरज विक आमरण अनशन बसेका छन् ।

उनिहरुसंग भेटघाट गर्दै नगरप्रमुख बोगटीले विगतमा तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा विक्रि तथा लिज प्रकरणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरि संलग्न व्यक्तिहरुका नाममा विशेष अदालतमा अरोप पत्र दायर गरिसकेको बताए ।

‘जग्गा लिजमा लिएका व्यक्तिहरुले नगर विकास समिति, भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगाएत नगर विकास समितिको जग्गा अतिक्रमण हटाउन लागेका सरोकारवाला निकायका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।’ नगर प्रमुख बोगटीले भने ‘हाल उक्त मुद्दाहरु अदालतमा विचराधिन अवस्थामा रहेकाले हामीले कानुनको परिधिभित्र रहि काम गर्नुपर्ने अवस्था रहेको छ ।’

कानुनी रुपमा परामर्श गरी आफुहरु काम गरिरहेको र सो प्रकरणका विरुद्ध सबैले सहकार्य गरेर अगाडी बढ्औँ भन्दैँ अनशन फिर्ता लिन नगर प्रमुख बोगटीले आग्रह गरेका छन् ।

ताजा समाचार