साउन महिनाको रौनक महेन्द्रनगर बजारमा (फोटो फिचर)

कञ्चनपुर । साउन महिना सुरु भएसँगै महेन्द्रनगर बजारमा यतिबेला हरियो चुरा, पोते र मेहेन्दी श्रृङ्गारका सामग्री किन्नेको घुँइचो छ ।

बजारमा हरीयो चुरा,पोते र मेहेन्दीको रौनक देखिएको छ। बजारमा जता गए नि हरियाली नै हरियालीका साथै महिला दिदीबहिनीलाई हरियो लुगा, चुरा, पोते,मेहन्दी लगायतका श्रृङ्गारका सामग्री खरिद गर्न भ्याइ नभ्याइ छ । यो महिनामा साना बालिकादेखि वृद्धसम्मको हातभरीमा हरीयो चुरा र मेहेन्दी देख्न सकिन्छ ।

महिलाले हरियो, पहेंलो र रातो रङका लुगा पहिरन, हरियो चुरा, हातमा मेहेन्दी लगाई सोमबार शिवजीको व्रत बसे श्रीमानको आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने, मनले चिताएको पूरा हुने भन्ने धार्मीक विश्वास पनि रहिआएको छ। जसले गर्दा लुगाकपडा, श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।

साउन महिनामा अरु महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने गरेको व्यापारी मनिषा जोशीले बताउनुभयो । “ यो श्रावण महिनामा महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याईं नगरी लुगाकपडा, श्रृङ्गारका सामान लिने गर्छन् । त्यसैले अहिले नयाँ फेन्सी डिजाइनको हरियो पहिलो रङ्गीन ,लुगा चुरा र पोते आएको छ, तर राख्न नपाउँदै विक्री भइहाल्छ ।”

उहाँका अनुसार अरुबेला दैनिक दैनिक रु ५ देखि ७ हजारको श्रृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले अहिले साउन महिनाको चहल पहलले दैनिक १० देखि १५ हजारसम्म व्यापार हुन्छ ।”

उनले भनिन ” अहिले त साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले पनि हरियो, पहेँलो चुरा र हत्केलामा मेहेन्दी लगाएर सिँगारपटार गरी सजिएर हिँड्ने फेसन नै भइसक्यो । जसले गर्दा कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय वृद्धि भएको हो ।”

पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको सुनेका हुनाले शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने विश्वासले हिन्दू संस्कार मान्ने खस हिन्दू धर्मावलम्बीहरुले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकोले पनि साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिने गरेको हो ।

ताजा समाचार