महेन्द्रनगर । नेपाली काँग्रेसले देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ विपी कोइराला स्मृती दिवस मनाएको छ । कञ्चनपुरमा पनि विभिन्न कार्यक्रम गरी विपी स्मृती दिवस मनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुर, क्षेत्रिय, प्रदेश सभा, नगर, वडा समितिहरु एवम् नेपाल विद्यार्थी संघ, तरुण दलले विभिन्न सामाजिक कार्य गरी विपी स्मृती दिवस मनाएको नेपाली काँग्रेस जिल्ला सचिव भीमराज भट्टले बताए ।
महेन्द्रनगर बजार स्थित विपी कोइरालाको सालीकमा माल्यार्पण, दिप प्रज्वलन सहित विभिन्न सामाजिक कार्य गरी विपी स्मृती दिवस मनाइएको छ । सो अवसरमा कञ्चनपुर काँग्रेसले महाकाली प्रादेशिक अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण गरेको छ । यस्तै नेपाल तरुण दल जिल्ला कार्यसमितिले रक्तदान, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिले भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा वृक्षरोपण गरेको छ ।
यस्तै नेपाली काँग्रेस बेदकोट नगर कार्यसमितिले समेत बेदकोट नगरपालिका स्थित सिद्धसरोवर धार्मीक बन चुनेपानीमा रक्तचन्दन, रुद्राक्ष लगाएतका विरुवा लगाएको छ । जिल्लाभर यस्तै विभिन्न सामाजिक कार्य गरेर विपी स्मृती दिवस मनाइएको सचिव भट्टले बताए ।
कार्यक्रमहरुमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका सभापती एवम् भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नेपाली काँग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापती एवम् प्रदेश सभा सदस्य बहादुर सिंह थापा लगाएत नेपाली काँग्रेसका नेता, नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु, कार्यकर्ता लगाएतको उपस्थिति रहेको थियो ।