कञ्चनपुर, असोज १०। झाँडी सफाईका नाममा रुख काटेको आरोप लागेका बेलौरीका नगरपालिका ६का वडाध्यक्ष भोजराज चौधरी हिरा भएका छन ।
बेलौरी छोटी भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका वडाध्यक्ष चौधरी बुधबार रिहा भएका हुन ।
वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले आईतबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको थियो । पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले सरकारी वकिल कार्यालयको राय अनुरुप वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको बताए । वडाध्यक्ष रिहा भएपनि मुद्दा भने जारी रहेको वनले जनाएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कँडेलका अनुसार, अनुमती बिनै रुख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको बताएका थिए ।
संघीय सरकार मातहत रहेको बेलौरी छोटी भन्सार संचालनका लागि १३ साउनमा वडाकै अगुवाईमा झाँडी सफाई गरिएको थियो । झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषसर भित्र रहेका रुख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी सहित बिरुद्धमा उजुरी गरेपछि वनले वडाध्यक्ष चौधरीलाई बयानका लागि भनेर बोलाएर नियन्त्रणमा लिएको थियो । भन्सार क्षेत्रबाट कार्टिएको रुख र दाउरा वनले नियन्त्रणमा लिएको थियो ।
सव डिभिजनवन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले गोलिया ११९क्युफिट र २ चट्ठा दाउरा वनले नियन्त्रण गरेर राखेको बताए ।
३० बैशाख ०७९ मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित चौधरी स्थानीय एमाले नेता हुन ।
