नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न(फोटोमा हेर्नुहोस्)

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पश्चातको पहिलो जिल्ला सम्मेलन शनिवार नेपाली कांग्रेस कञ्चनपुरका सभापती पदम बोगटीको अध्यक्षता एवम् नेपाली कांग्रेसका केन्द्रिय उपसभापती एवम् पूर्वमन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

सम्मेलनमा नेपाली कांग्रेसको वडा, पालिका र क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावका बिषयमा प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो । जिल्ला सम्मेलनमा पार्टीको संगठन विस्तार, तल्लो तहसम्म पार्टीको वैचारिक बहस, पार्टी र निर्वाचित जनप्रतिनिधिहरु विच समन्वयात्मक हुनुपर्ने लगायतका बिषयमा छलफल भएको छ ।

उक्त सम्मेलनबाट नेपाली कांग्रेस कञ्चनपुरको राजनीतिक,सांगठनिक र आर्थिक प्रतिवेदन समेत अनुमोदन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरले पार्टीमा पु¥याएको योगदानको कदर गर्दै १२ जना नेता कार्यकर्तालाई समेत सम्मान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति खड्काले समयमै संविधान कार्यान्वयन नहुँदा संघीयताका बारेमा प्रश्न उठ्न थालेको बताएका छन् ।

उनले समयमै संघीय ऐन–कानुनहरू नबन्दा संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न नपाएको बताए । उपसभापति खड्काले तत्कालीन अवस्थामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा तत्कालका लागि संविधानमा नलेखिएका कुराहरू संशोधनमार्फत समेट्ने बाचा गरेको उल्लेख गर्दै त्यसतर्फ कांग्रेस क्रियाशिल रहेको बताए । यस्तै उनले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्तावेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावहरूलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए ।

‘महासमिति बैठकमा प्रस्तुत गरेका दस्तावेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ,’ उपसभापति खपड्काले भने, ‘त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।’ उपसभापति खड्काले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र मतदातालाई गम्भीर धोका दिएको समेत बताए ।

‘निर्वाचनका बेला जनतासँग गरेका बाचालाई उहाँ (प्रचण्ड)ले धोका दिनु भएको छ,’ उनले भने । कांग्रेस तत्काल सत्ताको खेलमा नरहेको बताउँदै जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्दै संगठन समृढिकरण अभियानमा लाग्ने उपसभापती खड्काले बताए । यस्तै उनले पार्टी समृढिकरण, पार्टीमा देखिएका समस्या समाधान तथा पार्टी सुधार्नका लागि पहिला सुधार आफुबाट शुरु गर्नुपर्ने बताए । ‘पार्टी सुधार्न सबै नेता कार्यकर्ताहरुले पहिला आफुमा भएका गल्ती सुधार आफुबाटै शुरुवात गर्नु पर्छ ।’ उनले भने ‘सबैले आफ्ना गल्ती स्वीकार्दै सुधार गर्ने हो भने पार्टी आफै सुध्रिन्छ ।’

कार्यक्रममा अन्य वक्ताहरुले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने र एकढिक्का भएर संगठन विस्तार अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापती एवम् नेपाली कांग्रेस कञ्चनपुरका सभापती बोगटीले कार्यक्रमको समापन गर्दै अरुलाई दोष दिनुभन्दा सबैले इमान्दार भएर काम गरे पार्टी, समाज, देश आफैँ राम्रो र बलियो हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रसका केन्द्रिय सह–महामन्त्री बद्रि पाण्डेय, केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद, रमेश लेखक, गोविन्द शाह, केन्द्रिय समस्य यज्ञराज जोशी, नैनसिंह महर, नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सह–महामन्त्रीहरु, प्रदेश सदस्यहरु, क्षेत्रिय सभापतीहरु, प्रदेश सभा समितिका सभापतीहरु, नगर/गाउँ समिति का सभापतीहरु, महासमिति सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु, पार्टीका क्षेत्रिय प्रतिनिधिहरु लगाएत नेता कार्यकर्ता, भातृ संघ संगठनका पादधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले संञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरका उपसभापती मीन बहादुर सिंहले स्वागत मन्तव्य राखेका थिए ।

ताजा समाचार