वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ कञ्चनपुरको महेन्द्रनगरमा दुई छुट्टाछुट्टै लायन्स क्लबहरूले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। लायन्स क्लब अफ महेन्द्रनगर रानीताल र लायन्स क्लब अफ महाकाली इन्जिनियर्सको सक्रियतामा हिजो र आज (शुक्रबार र शनिबार) वृक्षारोपण गरिएको हो।
लायन्स क्लब अफ महेन्द्रनगर रानीतालले हिजो २०८३ असार २६ गते स्थानीय गुरुकुल इन्टरनेसनल स्कुलको प्राङ्गणमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो। विद्यालय क्षेत्रलाई हराभरा बनाउन र विद्यार्थीहरूमा वातावरणीय चेतना जगाउन उक्त कार्यक्रम गरिएको क्लबकी अध्यक्ष नीरू बोगटीले जानकारी दिए।
त्यसैगरी, प्राविधिक क्षेत्रका युवाहरूको क्लब लायन्स क्लब अफ महाकाली इन्जिनियर्सले आज २०८३ असार २७ गते धार्मिक एवं सामाजिक महत्त्व बोकेको गोबरीयास्थित निङ्गलाशैनी मन्दिर परिसरमा वृक्षारोपण गरेको छ। मन्दिर आसपासको क्षेत्रलाई थप आकर्षक र स्वच्छ बनाउन विभिन्न प्रजातिका फलफूल तथा शितल दिने बिरुवाहरू रोपिएको क्लबका अध्यक्ष रोहित प्रसाद जोशीले बताउनुभयो।
बढ्दो सहरीकरण र जलवायु परिवर्तनको रैथाने असरलाई न्यूनीकरण गर्न साना प्रयासहरू पनि महत्त्वपूर्ण हुने भन्दै दुवै क्लबका नेतृत्वले आगामी दिनमा पनि यस्ता पर्यावरणमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा लायन्स पदाधिकारीहरू, क्लबका सदस्यहरू, स्थानीय भद्रभलाद्मी, शिक्षक तथा मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।



