काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले मुगुका युवा गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रतिनिधि सभा बैठकको रोस्ट्रममै सरकारविरुद्ध कडा आक्रोश पोखेका छन्। संसद्मा बोल्दै प्रमुख सचेतक महरले मुगुका २५ वर्षीय नेपालीलाई स्थानीय सरकार र राज्य संयन्त्रले नै आत्मदाह गर्ने चरम निराशाजनक परिस्थितिमा पुर्याएको गम्भीर आरोप लगाए। वीर अस्पतालमा मृतकको परिवार बिचल्लीमा परेको उल्लेख गर्दै उनले नेतृत्व वर्ग नागरिकको जीवन रक्षामा भन्दा सस्तो लोकप्रियता र प्रचारबाजीमा मात्रै केन्द्रित भएको टिप्पणी गरे। गृहमन्त्री राति अस्पताल पुगेर बसेको प्रसङ्ग कोट्याउँदै उनले सरकारलाई यस्ता ‘स्टन्ट’ र सस्तो प्रचारबाजी तत्काल बन्द गर्न कडा चेतावनी दिए।
संसद्को विशेष समयमा बोल्दै नेता महरले यस दुःखद घटनाको सम्पूर्ण जिम्मेवारी काठमाडौँ महानगरपालिका र सरकारले लिनुपर्ने माग गरे। उनले स्थानीय सरकार जनताको हित एवं जनजीविकाको सवालमा केन्द्रित हुनुपर्नेमा उल्टै नागरिकलाई मृत्युको मुखमा धकेल्ने गरी अगाडि बढिरहेको दाबी गरे। जनप्रतिनिधिहरूको आवाज र जनताको पीडालाई बेवास्ता गरिएको भन्दै उनले रोस्ट्रमबाटै आक्रोश व्यक्त गरे। जनतालाई राहत दिनुको सट्टा संकटमा पार्ने काम भइरहेको आरोप लगाउँदै प्रमुख सचेतक महरले संसद्को बैठक चलिरहेकै समयमा सरकारको कार्यशैलीविरुद्ध कडा आपत्ति जनाएपछि सदनको वातावरण केही बेर गर्माएको थियो।



