बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाद्वारा स्वदेश फर्किने घोषणा

प्रकाशित मिति:
spot_img

काठमाडौं । भारतको नयाँदिल्लीमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको आन्तरिक राजनीतिसँगै भारतसँगको कूटनीतिक सम्बन्धमा नयाँ तरङ्ग पैदा भएको छ । सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भई भारत पुगेकी ७९ वर्षीया हसिनालाई बंगलादेशको अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको छ ।

हसिनाका निकट सहयोगी अबु ओबैदा अरिनका अनुसार पूर्वप्रधानमन्त्रीले स्वदेश फर्किन नयाँदिल्लीसँग हवाई यात्राको व्यवस्था गरिदिन आग्रह गरेकी छन् । सहयोग नपाए व्यावसायिक उडान वा भारत–बंगलादेश सीमाका नौवटा पहिचान गरिएका नाकामार्फत स्थलमार्गबाटै बंगलादेश प्रवेश गर्ने तयारी रहेको उनको भनाइ छ ।

अर्कोतर्फ, बंगलादेश सरकारले भने हसिनाको स्वेच्छिक फिर्तीको घोषणालाई गम्भीर सुरक्षा र कानुनी चुनौतीका रूपमा लिएको छ । विदेश मामिला राज्यमन्त्री हुमायुन कबिरले हसिना सामान्य यात्रुका रूपमा फर्कन नसक्ने स्पष्ट पार्दै भारतसँग सुपुर्दगीको माग दोहोर्‍याएका छन् । हसिना बंगलादेश प्रवेश गरेलगत्तै पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिने सरकारको अडान छ । भारतको विदेश मन्त्रालयले भने बंगलादेशको सुपुर्दगी अनुरोध स्थापित प्रक्रियाअनुसार विचाराधीन रहेको जनाएको छ ।

प्रतिकूल अवस्थाका बाबजुद हसिनाले टेलिग्राममार्फत अवामी लिगका ६४ जिल्लाका नेता–कार्यकर्तासँग नियमित संवाद गरिरहेकी छन् । पार्टीमाथि प्रतिबन्ध लागे पनि पछिल्लो समय गोपालगञ्जलगायत विभिन्न जिल्लामा अवामी लिगका समर्थकले प्रदर्शन गर्दा हिंसात्मक झडप, आगजनी र तोडफोडका घटना बढेका छन् ।

हसिनाको अभिव्यक्ति र गतिविधिका कारण ढाका र नयाँदिल्लीबिच विश्वासको वातावरण बन्न सकेको छैन । प्रधानमन्त्री तारिक रहमान सत्तामा आएको झन्डै १० महिना बित्दासमेत भारत भ्रमण हुन सकेको छैन भने सुपुर्दगी, पारवहन र गङ्गा जल सम्झौताजस्ता विषयसमेत अनिश्चित बनेका छन् । विश्लेषकहरूले मृत्युदण्डको फैसला सामना गर्नुपर्ने भएकाले हसिना वास्तविक रूपमै फर्कने सम्भावना कम रहे पनि उनको घोषणाले बंगलादेशमा सुरक्षा चुनौती र राजनीतिक ध्रुवीकरण थप बढाएको बताएका छन् ।

spot_img

ताजा समाचार