मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि अदालत लगिँदै

प्रकाशित मिति:
spot_img

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालय लगिएको हो । सरकारी वकिल कार्यालयको प्रक्रियापछि उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटलगायतको जाहेरीका आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव अर्याललाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।

सिआइबीको विज्ञप्तिअनुसार नेपाल र मलेसिया सरकारबिच भएको श्रम समझदारी (एमओयू) र प्रचलित कानुनी प्रक्रियाविपरीत श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० बेलायती पाउन्ड गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपियाँ ७६ पैसा अवैध रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्यालको प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ ।

अर्यालले अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई मुलुकको अर्थतन्त्र र मुद्रा सञ्चितिमा नोक्सानी पुर्‍याउने निर्णय गरेको, श्रमिक ठगीमा मौन रही आर्थिक लाभ लिने र दिलाउने कार्यमा संलग्न रहेको सिआइबीको आरोप छ । काठमाडौँ जिल्ला अदालतबाट गत मङ्सिर २ गते पक्राउ अनुमति लिएको प्रहरीले यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित अन्य व्यक्तिलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

spot_img

ताजा समाचार