धनगढी । कैलालीको धनगढीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका पाँच वर्षीय बालक मिलन रोकायाको उपचारमा आर्थिक समस्या देखिएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन कठिन भएपछि आफन्तले सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।

बैतडीको सिगास गाउँपालिका–६ का मोहन रोकायाका छोरा मिलन चार दिनअघि धनगढी चौराहस्थित तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेर बेहोस भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ । दुर्घटनापछि बेहोस भएका बालकको अझै होस नखुलेको उनकी काकी कल्पना खडायतले जानकारी दिइन् ।
धनगढीमा काकी कल्पनासँगै डेरामा बसेर हिमाल एकेडेमीको नर्सरी कक्षामा अध्ययनरत मिलनकी आमा हमेन्तीसमेत लामो समयदेखि बिरामी छिन् । अर्की काकी लालमती रोकायाका अनुसार आइसियू र औषधिमा मात्रै दैनिक २५ हजार रुपियाँ खर्च भइरहेकाले थप उपचारका लागि आर्थिक अभाव भएको छ । अस्पताल प्रशासनले उपचारमा केही सहुलियत दिने आश्वासन दिए पनि थप रकम आवश्यक पर्ने भएकाले बालकको जीवन रक्षाका लागि परिवारले सहयोगको याचना गरेको छ ।






