बेलडाँडीमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुर, अषाढ २। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पुर्वानुमानमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ ।

उक्त बेलडाँडी वडा नं ५ का वडा अध्यक्ष इन्द्र बहादुर खड्काको अधयक्षतामा गरिएको कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना, विशिष्ट अतिथिमा शान्ति नाथ, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,पत्रकार र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

बेल्डाँडी गाउँपालिकाको आयोजनामा निड्स नेपाल  अक्सफाम र एक्टको साझेदारीमा आईतबार बेलडाँडी गाउँपालिका वडा नम्बर ५ मा पालीकास्थरिय  बाढीमा आधारित पूर्वानुमान कृतिम नमूना अभ्यास गरिएको परियोजनाका सामाजिक परिचालक जानकी शाहीले बताएकी छन्।

उक्त कार्यक्रमका प्रमुख अथिति रहेका गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले बाढीमा आधारित कृत्रिम नमुना अभ्यासले गर्दा जनमानिसमा सकारात्मक ज्ञान प्रदान हुने हुँदा यो एकदमै महत्व कार्यक्रम रहेको बताउँदै बाढीपहिरोको समस्यामा सजक हुन र आफूले पनि विपत बाढीपहिरोका निम्ति पालिका बाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसै गरी विशिष्ट अथिति रहेका गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बढ्दै गइरहेको यस गर्मीले गर्दा पछि बाढीपहिरो आउने सङ्केत रहेको हुँदा यस क्षेत्रमा आउने बाढीपहिरोबाट बच्न यस्ता कृत्रिम नमुना अभ्यासले गर्दा स्थानियहरुलाई सजक हुन सहज हुने बताइन् ।

त्यसै गरी वडा नं ५ का वडा अध्यक्ष इन्द्र बहादुर खड्काले पनि उक्त क्षेत्रमा रहेको नदीले बाढीपहिरो आउने हुँदा विपत, बाढीपहिरोबाट बाँच्न  बासिन्दाहरुलाई यस कार्यक्रम कृत्रिम नमुना अभ्यासले राम्रो प्रभाव पर्ने र विपत, बाढीपहिरोको समस्याको बेला आफुबाट हुने सदैव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कृत्रिम नमुना अभ्यासमा स्थानियहरुले विपत बाढीपहिरो कसरी आउँछ,त्यसबाट कसरी बाँच्ने र त्यसबेला के के गर्ने भन्ने कुरालाई नाट्य क्रियाकलाप गरेर प्रस्तुत गरेका थिए । 

उक्त कृत्रिम नमुना अभ्यास सहभागीहरूले विपद्को समयमा आआफ्नो क्षेत्रबाट सक्रिय भएर विपद् व्यवस्थापनका कार्यमा लाग्ने र यस कृत्रिम नमुना अभ्यासले विपद् पूर्वतयारी, विपद्को समयमा प्रभावकारी उद्धार र राहतका कार्यक्रमलाई व्यवस्थित कसरी बनाउने भन्ने विषयमा धेरै ज्ञान हासिल गरेको बताएका छन्। 

ताजा समाचार