धनगढी । बडादसैँ तथा तिहार मनाउन सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रबाट पहाडी जिल्लातर्फ जाने यात्रुको निकै बाक्लो भीड लागेको छ। रोजगारी, अध्ययन र व्यापार–व्यवसायका सिलसिलामा कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका नागरिक चाडपर्व मनाउन गाउँ फर्किन थालेसँगै धनगढी र अत्तरिया बसपार्क यात्रुले भरिभराउ भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार पछिल्लो दुई–तीन दिनको अवधिमा मात्रै करिब एक लाख यात्रु पहाडी जिल्लातर्फ उक्लिएका छन्। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मनिराज भट्टले अत्तरिया बसपार्क भएर मात्रै ९० हजारभन्दा बढी यात्रु गन्तव्यतर्फ प्रस्थान गरिसकेको जानकारी दिए। यात्रुको अत्यधिक चापलाई ध्यानमा राख्दै दुर्घटना न्यूनीकरण गर्न प्रदेशभर ३९ स्थानमा यात्रु सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ। यस्तै, गोदावरीदेखि माथि पहाडी सडकखण्डमा टाइमकार्ड लागू गर्नुका साथै मादक तथा लागू पदार्थ सेवन (मापसे/लापसे) परीक्षण र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि नियमित निगरानी बढाइएको छ।
यसैगरी दसैँका अवसरमा भारतका विभिन्न सहरबाट गौरीफन्टा नाका हुँदै दैनिक दुई हजार तीन सयभन्दा बढी नेपाली स्वदेश फर्किरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए। सीमा नाका र राजमार्गमा संयुक्त सुरक्षा जाँचलाई तीव्रता दिँदै बढी भाडा असुल्ने तथा ओभरलोड बोक्ने सवारीसाधनमाथि कारबाही भइरहेको प्रहरीले जनाएको छ।






