महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले स्वास्थ्य स्वयमसेविकाहरु आमाको दोस्रो रुप भएको बताएका छन् ।
विहिवार २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नगरपालिकामा आयोजिक एक कार्यक्रममा नगरप्रमुख बोगटीले स्वास्थ्य स्वयंसेविकाहरु स्वस्थ समाज निर्माण एवम् बलवालिकालाई स्वस्थ जीवन दिने आमाको दोस्रो रुप भएको बताएका हुन् ।
‘स्वस्थ समाज निर्माण गर्ने कार्यमा यहाँहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिहरनु भएको छ ।’ नगर प्रमुख बोगटीले भने ‘घर–घर, टोल–टोलमा गएर स्वस्थ समाज निर्माणका लागि परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम प्रशंसा योग्य छन् ।’
उनले अगाडी भने ‘जन्म दिने आमाजस्तै स्वस्थ जीवन दिन यहाँहरु जसरी कुनै कुराको प्रवाह नगरी,निस्वार्थ सेवा गरिरहनु भएकोछ यहाँहरु आमाको दोस्रो रुप हो ।’ यस्तै स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरबाट गर्न सकिने सहयोग, सेवा सुविधा दिन पछि नपर्ने समेत नगरप्रमुख बोगटीले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशीले स्वयंसेविकाहरुको कामको प्रशंसा गर्दै उनिहरुको समस्या समाधानका लागि निरन्तर लाग्ने भन्दै आवश्यक सहयोग गर्ने बताइन् ।
दिवसको अवसरमा उत्कृष्ट स्वयंसेविकालाई सम्मान समेत गरिएको छ । विभिन्न रचनात्मक तथा चेतनामुलक कार्यक्रमका विच नगरपालिकाले २१ औँ राष्ट्रिय स्वयंमसेविका दिवस मनाएको थियो ।