गायक अशोक दर्जीमाथि कुटपिट र आरोपको भिडियो भाइरल, न्याय माग्दै प्रहरीमा निवेदन

प्रकाशित मिति:

झापा । गायक अशोक दर्जीमाथि कुटपिट र रकम चोरीको आरोप लगाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले न्यायको माग गर्दै प्रहरीमा निवेदन दिएका छन्। आफूमाथि योजनाबद्ध रूपमा फसाइएको भन्दै दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा लिखित निवेदन दिएका हुन्।

दर्जीले दिएको निवेदन अनुसार करिब एक महिना अघि बिर्तामोडस्थित मावली घर गएका बेला महानन्द चोक नजिकै साथीहरूसँग खाजा खाँदै गर्दा ‘अङ्कित’ नामका साथीले ‘काजी दाइ’सँग एक हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएका थिए। त्यसको एक सातापछि देवीबस्ती गेट नजिकै स्कुटीमा पेट्रोल हालिरहेका बेला अङ्कित, शशांक प्रधान र ‘गुन्द्रुक’ भन्ने व्यक्तिले आफूलाई घेरेर चोरीको आरोप लगाउँदै कुटपिट गरेर भिडियो खिचेको उनले उल्लेख गरेका छन्।

नियोजित रूपमा भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएको र हटाउन आग्रह गर्दा धम्की दिइएको दर्जीको भनाइ छ। उनले आफ्नो प्रतिष्ठा र भविष्यमाथि खेलबाड गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन्। उक्त भिडियो अभियन्ता विनयजंग कुँवर र पूजा कुँवरले सेयर गरेका थिए। बाल्यकालमै ‘मन बिनाको धन’ गीतबाट चर्चामा आएका दर्जी हालै टंक बुढाथोकीको संरक्षण छाडेर परिवारसँगै बस्दै आएका छन्।

ताजा समाचार