लघुवित्तपीडितद्वारा माइतीघरमा आमरण अनशन, वित्तीय शोषण अन्त्यको माग

प्रकाशित मिति:

काठमाडौं । लघुवित्तपीडितहरूले आफ्ना माग पूरा गराउन राजधानीको माइतीघरमा सडकमै आमरण अनशन सुरु गरेका छन्। गत आइतबार ‘राजधानी मार्च’ मार्फत सरकारको ध्यानाकर्षण गराएका उनीहरू मंगलबार बिहानदेखि औपचारिक रूपमा आमरण अनशनमा बसेका हुन्।

लघुवित्तसम्बन्धी विगतका छानबिन प्रतिवेदनहरू सार्वजनिक गरी तत्काल कार्यान्वयन गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण रोक्नुपर्ने उनीहरूको मुख्य माग छ। त्यसका साथै, चर्को तथा चक्रवर्ती ब्याजदर, विभिन्न शीर्षकमा असुल गरिने गैरकानूनी हर्जना र विविध शुल्कहरू पूर्ण रूपमा खारेज गरिनुपर्ने उनीहरूले बताएका छन्।

ऋणीहरूको जग्गा धितो लिलामी गर्ने र विनाकारण कालोसूचीमा राख्ने जस्ता कार्यहरू तत्काल बन्द गर्नुपर्ने माग गर्दै पीडितहरूले लघुवित्तका कर्मचारीहरूबाट लगातार दुःखी हुनुपरेको गुनासो पोखेका छन्। सरकारले यसअघि पटक-पटक वार्ता र सम्झौताको आश्वासन मात्रै दिएको तर आफूहरूका माग सम्बोधन नगरेका कारण बाध्य भएर सडकमा नै आमरण अनशन बस्नुपरेको उनीहरूको भनाइ छ।

ताजा समाचार