सुदूरपश्चिम । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
सिल्ट सफाइका लागि एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाले बुधबार बिहान ६:०० बजेदेखि बिहीबार अपराह्न ६:०० बजेसम्म बाँधका ढोका खोल्ने जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको हो।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सिल्ट सफाइका लागि बाँधका ढोका खोलिने हुँदा त्यस अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेका छन्।
यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाले विज्ञप्ति जारी गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्।




