सुनसरी । सुनसरीमा भएको घटनापछि विभिन्न राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्भाव र पारस्परिक भाइचारा कायम राख्न देशवासीसमक्ष अपिल गरेका छन्।
बुधबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी थिए।
बैठकले घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बैठकपछि जारी संयुक्त अपिलमा कुनै पनि उत्तेजना र अवाञ्छित गतिविधिमा नलाग्न आग्रह गर्दै शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरिएको छ। साथै, प्रदेश, जिल्ला र स्थानीय तहमा पनि तत्काल सर्वदलीय एवं सर्वपक्षीय बैठक आयोजना गरी नागरिक स्तरमा विश्वासको वातावरण बनाउन आ-आफ्ना पार्टी पंक्तिलाई निर्देशन दिइएको छ।
सञ्चारमाध्यम र नागरिकलाई भ्रामक समाचार एवं अफवाह नफैलाउन र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आग्रह गर्दै दलहरूले निष्पक्ष छानबिन, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।




