अस्पतालका सेवा ठप्प पारेर दोस्रो दिन पनि सडक प्रदर्शनमा उत्रिए चिकित्सक

प्रकाशित मिति:

काठमाडौं । नेपाल चिकित्सक सङ्घले बुधबार दोस्रो दिन पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द गराएको छ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदासिन बनेको भन्दै सङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो। आन्दोलनका कारण देशभरका अस्पतालहरूमा बहिरङ्ग (ओपीडी), नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया र अन्य गैरआकस्मिक सेवाहरू पूर्ण रूपमा ठप्प बनेका छन्। तर सर्वसाधारणको जटिल स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै आकस्मिक सेवा भने सञ्चालनमा राखिएको छ।

आन्दोलनको प्रत्यक्ष असर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र वीर अस्पताललगायतका प्रमुख सरकारी अस्पतालहरूमा परेको छ। नियमित ओपीडी सेवा बन्द हुँदा टाढा-टाढाबाट आएका बिरामीहरू उपचार नपाई निराश भएर फर्कन बाध्य भएका छन्।

नेपाल चिकित्सक सङ्घले दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही नगरेसम्म र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरेसम्म पछि नहट्ने जनाएको छ। माग पूरा नभए आन्दोलन थप कडा बनाउने चेतावनी सङ्घले दिएको छ। यता अस्पतालमा सेवा ठप्प हुँदा सास्ती भोग्न बाध्य बिरामी तथा सर्वसाधारणले भने चिकित्सकका जायज माग सम्बोधन गरी अवरुद्ध स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।

ताजा समाचार