देवानगञ्ज घटनाका दोषीलाई कारबाही माग गर्दै मोरङ प्रशासनअगाडि प्रदर्शन

प्रकाशित मिति:

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन भएको छ। घटनामा संलग्नलाई कारबाहीको माग राख्दै प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा प्रदर्शन भएको हो।

मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजी गर्दै प्रदर्शनकारी प्रशासन कार्यालयअगाडि पुगेपछि सुरक्षा तैनाथी बढाइएको छ। जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सुरक्षाकर्मीले ब्यारिकेड खडा गरेर प्रदर्शनकारीलाई रोकेका छन्।

देवानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सो घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनी भएपछि जिल्लाका नौ वटा स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ।

देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भड्किएको साम्प्रदायिक हिंसा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १२ गते राति ९ बजेदेखि लगाएको कर्फ्यु बिहीबार पनि यथावत् राखिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु कायम रहेकाले सुनसरीको जनजीवन भने सामान्य रहेको छ।

ताजा समाचार