डोटीमा शिक्षकद्वारा श्रीमतीको कुटपिट गरी हत्या, आरोपी ओली पक्राउ

प्रकाशित मिति:

डोटी । डोटीमा मदिराको नसामा लठ्ठ शिक्षकले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेर ४७ वर्षीया श्रीमती अमृता ओलीको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार बुधबार दिउँसो पौने २ बजेतिर ओलीले श्रीमतीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। पेटको बायाँ भागमा चोट लागेर घाइते भएकी अमृतालाई उपचारका लागि सुरुमा स्वास्थ्य चौकी चन्कट्टे लगिएको थियो। तर अवस्था गम्भीर भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

श्रीमतीको हत्या आरोपमा प्रहरीले चन्द्रबहादुर ओलीलाई पक्राउ गरेको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार