काठमाडौं । उत्तरी कुवेतमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो। तामाङ त्यहाँ सवारी चालकका रूपमा कार्यरत थिए।
सन् २०२६ जुलाई ३० (२०८३ साउन १४ गते) भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई औपचारिक रूपमा जानकारी गराएको थियो।राजदूतावासले तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, उनको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको दूतावासले जनाएको छ।
कुवेतमा विकसित संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। सुरक्षासम्बन्धी सरकारी मापदण्डहरूको पूर्ण पालना गर्न र संयमित भई सुरक्षित स्थानमा रहन पनि दूतावासले अपिल गरेको छ।




