काठमाडौं । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान जारी रहँदा शुक्रबार चार जनाको शव फेला परेको छ।
फेला परेका चार शवमध्ये दुई जनाको पहिचान खुलेको पाकिस्तानी सञ्चारमाध्यम ‘डनडटकम’लाई उद्धृत गर्दै जनाइएको छ। पहिचान खुल्नेमा नेपालका पुरबहादुर गुरुङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी रहेका छन्।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार १० सदस्यीय आरोहण टोलीमा छ जना नेपाली, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र एक पाकिस्तानी पर्वतारोही रहेका थिए।
अल्पाइन क्लबका महासचिव अयाज शिग्रीका अनुसार आरोहण टोलीले संयुक्त रूपमा चुचुरोतर्फ आरोहण सुरु गरेको थियो। सम्पर्कविहीन पर्वतारोहीहरूबाट प्राप्त जीपीएस लोकेसनका आधारमा हिमपहिरोले उनीहरूलाई करिब एक हजार मिटर तलतर्फ बगाएको र त्यसपछि उनीहरू फसेको संकेत मिलेको छ।




