काठमाडौं । तराई-मधेसमा धार्मिक हिंसा भड्किएपछि विभिन्न धर्मका अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको छलफलपछि धार्मिक प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शान्ति र सहिष्णुताको आह्वान गरेका हुन्।
अपिलमा विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्धिकी, विश्व हिन्दु महासङ्घका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ।
धार्मिक अगुवाहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै पीडित परिवारलाई राहत, क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ।
विज्ञप्तिमा नेपालको सदियौँदेखिको धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने तत्वहरूप्रति सचेत रहन आग्रह गर्दै सम्पूर्ण नागरिकलाई संयमता अपनाउन र कुनै पनि विभाजनकारी वा हिंसात्मक गतिविधिमा नलाग्न आह्वान गरिएको छ।




