पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको निधनप्रति गिनिज वर्ल्ड रेकर्ड्सद्वारा दुःख व्यक्त

प्रकाशित मिति:

काठमाडौं । नेपालका विश्वविख्यात पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको निधनप्रति गिनिज वर्ल्ड रेकर्ड्सले दुःख व्यक्त गरेको छ। गिनिजले विज्ञप्ति जारी गर्दै पुर्जालाई श्रद्धान्जली दिएको हो।

पुर्जाका नाममा पर्वतारोहणका क्षेत्रमा थुप्रै विश्व कीर्तिमान छन्। सन् २०२५ सेप्टेम्बरसम्मको तथ्याङ्क अनुसार ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको सबैभन्दा धेरै (४९ पटक) सफल आरोहण गर्ने कीर्तिमान उनकै नाममा थियो। साथै, बिनाअक्सिजन सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने सबैभन्दा पाको व्यक्तिको कीर्तिमान पनि उनले बनाएका थिए।

पुर्जाको निधनप्रति श्रद्धान्जली अर्पण गर्दै गिनिज वर्ल्ड रेकर्ड्सका एडिटर–इन–चीफ क्रेग ग्लेन्डेले भने, “निम्सले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएका थिए। उनले पर्वतारोहणको एउटा यस्तो नयाँ शैलीको सुरुवात गरे जसले स्वयं उनलाई र सम्पूर्ण आरोहण समुदायलाई नै चुनौती दियो।”

ग्लेन्डेले थप भने, “शेर्पा गाइड र भरियाहरूको अतुलनीय योगदानलाई विश्वसामु चिनाउन उनले गरेको प्रतिबद्धता र प्रयास सधैँ एउटा जीवन्त विरासतको रूपमा रहनेछ।”

आफ्नो साहसिक यात्रा र ‘प्रोजेक्ट पोसिबल’ मार्फत विश्वभर नेपाल र नेपाली पर्वतारोहीको शान बढाएका पुर्जाको असामयिक निधनले पर्वतारोहण जगतमा अपूरणीय क्षति पुगेको छ।

ताजा समाचार