अछाम। अछामको साँफेबगर नगरपालिका–२ स्थित बुढीगंगा नदीमा एक महिला मृत अवस्थामा भेटिएकी छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपाटी गाउँपालिका–५ बस्ने ३२ वर्षीया खिना खड्का नदीमा मृत फेला परेकी हुन्। स्थानीयका अनुसार खड्काले बिहान करिब ७ बजे नदीमा हाम फालेकी थिइन्।
खेतमा काम गरिरहेका स्थानीयले घटना देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उनी हाम फालेको स्थानभन्दा करिब एक किलोमिटर तल नदीमा मृत अवस्थामा भेटिएकी हुन्।
घटनाको कारण भने खुल्न सकेको छैन। शवलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




