काठमाडौं । सुनसरीमा उत्पन्न साम्प्रदायिक तनाव अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा भएको संवादबारे नयाँ तथ्य बाहिर आएको छ।
हिन्दू र मुस्लिम समुदायका प्रतिनिधिबिच भएको उक्त वार्तामा ‘हिन्दू अगुवा’का रूपमा सहभागी राजुराज फुँयाल स्वयं रास्वपाका नेता रहेको खुलेको छ। फुँयाल रास्वपाको चितवन महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए भने उनी विभाजित विश्व हिन्दू महासंघको सचिवालय सदस्यका हैसियतमा वार्तामा बसेको बताइएको छ।
यसैबिच, धनुषामा गृहमन्त्री सुधन गुरुङलाई नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेसहितका माग राखेर संयुक्त हिन्दू मोर्चाका नाममा ज्ञापनपत्र बुझाउने नेतृत्वकर्ता पनि रास्वपाकै स्थानीय नेता रहेको पाइएको छ। जनकपुर उपमहानगरपालिका–८ का रास्वपा वडा सभापति शनी भगतले हिन्दू सम्राट सेनाको प्रतिनिधिको रूपमा ज्ञापनपत्रमा पहिलो हस्ताक्षर गर्दै गृहमन्त्रीलाई मागपत्र बुझाउनुभएको थियो।
साम्प्रदायिक सौहार्दता कायम गर्न सभापति लामिछानेले गरेको संवाद फलदायी भएको भन्दै प्रशंसा भइरहेका बेला वार्तामा आफ्नै पार्टीका नेताहरूलाई धार्मिक अगुवाका रूपमा प्रस्तुत गरिएको विषयले नयाँ चर्चा पाएको छ।




