कैलाली । तराई–मधेशका पछिल्ला साम्प्रदायिक घटनालाई दृष्टिगत गर्दै कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीमा आइतबार बसेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले जिल्लाभर सद्भाव सुदृढ बनाउन सबै स्थानीय तहसँग समन्वय गरी पालिका तथा वडास्तरीय सद्भाव समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। कुनै एक धार्मिक सम्प्रदायको मात्र प्रतिनिधित्व हुने सभा, जुलुस वा र्याली सकेसम्म नगर्न आग्रह गर्दै अनिवार्य अवस्थामा चर्को ध्वनिका उपकरण प्रयोग नगर्न र अर्को समुदायको आस्थामा आँच नपुर्याउन भनिएको छ।
यस्तै हातहतियार, लट्ठी वा भाला प्रदर्शन नगर्न, सार्वजनिक कार्यक्रमअघि स्थानीय प्रशासनबाट अनिवार्य स्वीकृति लिन र सामाजिक सञ्जालमा सद्भाव भड्काउने सामग्री लाइक, सेयर वा पोस्ट गरेमा तत्काल कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ।
संवेदनशील अवस्थालाई ध्यानमा राख्दै छिमेकी मुलुकबाट नाका हुँदै नेपाल प्रवेश गर्नेहरूका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ। साथै, जिल्लामा सरोकारवालाहरूको सहभागितामा सद्भाव र्याली निकाल्ने निर्णयसमेत बैठकले गरेको छ।




