बर्सातसँगै चिसापानी–कुइने सडकखण्ड जोखिमपूर्ण: स्तरोन्नति सुस्त हुँदा यात्रु समस्यामा

प्रकाशित मिति:

काठमाडौं । सुदूरपश्चिम सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने सबैभन्दा छोटो सडकका रूपमा परिचित चिसापानी–कुइने सडकखण्ड बर्सात सुरु भएसँगै अत्यन्तै जोखिमपूर्ण बनेको छ। हिलो, चिप्लो र कच्ची बाटोका कारण दैनिक सयौँ यात्रु तथा चालकहरू ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन्।

विगत सात वर्षदेखि यस खण्डमा गाडी चलाउँदै आएका सुर्खेतका सवारी चालक मोहनका अनुसार पानी परेपछि सडक चिप्लो हुने र सानो गल्तीले पनि गाडी सिधै कर्णाली नदीमा खस्ने खतरा रहन्छ। अछाम, बाजुरा, दैलेख, कालीकोट, जुम्ला र हुम्लालगायतका नागरिक कैलाली–कञ्चनपुर आवतजावत गर्न यही छोटो मार्ग प्रयोग गर्दै आएका छन्।

चिसापानीदेखि सुर्खेतको बड्डीचौरसम्म ४८ किलोमिटर र चिसापानीदेखि कुइनेसम्म १२ किलोमिटर दुरी रहेको यस सडकमा चिसापानी क्षेत्रमा दुई किलोमिटर मात्र कालोपत्रे भएको छ। बाँकी खण्डको ठेक्का भए पनि निर्माण कार्यले गति लिन सकेको छैन। सडक दयनीय हुँदा यात्रुले १० किलोमिटर दुरीकै २५० रुपियाँसम्म महँगो भाडा तिर्नु परिरहेको छ।

कुइनेस्थित कर्णाली र जामुस्थित भेरी नदीमा पक्की पुल बनेपछि यस सडकको रणनीतिक महत्त्व बढेको छ। यो सडक पूर्ण रूपमा निर्माण भए अत्तरियाबाट सुर्खेत, दैलेख हुँदै अछामको मङ्गलसेन पुग्ने दुरी करिब ३०० किलोमिटरसम्म छोटिने भएकाले स्थानीयले सडक स्तरोन्नति र निर्माण कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।

ताजा समाचार