काठमाडौं । काठमाडौँको मुख्य प्रशासनिक केन्द्र माइतीघर मण्डला क्षेत्रमा सामान्य वर्षामा पनि हुने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने भएको छ।
काठमाडौँ महानगरपालिका र विपद् व्यवस्थापन प्राधिकरणसहितका निकायहरूले एकीकृत कार्ययोजना स्वीकृत गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएका हुन्। अध्ययन अनुसार प्राकृतिक रूपमा पानी सोस्ने क्षेत्रको विनाश हुनु र ढल तथा वर्षाको पानी एउटै पाइपबाट बगाउन खोज्दा बर्सेनि डुबानको समस्या दोहोरिने गरेको पाइएको छ।
यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न मध्यम र दीर्घकालीन योजनाअन्तर्गत ठूला क्षमताका पाइप जडान गर्ने, वर्षाको पानी सङ्कलन (रेनवाटर हार्भेस्टिङ) गर्ने तथा टुकुचा खोलाको निकास सुधार गर्ने कार्य अघि बढाइनेछ।




