बाजुरा । बाजुरामा विषालु जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, धम्कने निवासी ५१ वर्षीय रामे थापा रहेका छन्।
जंगली विषालु च्याउ खाएर अस्वस्थ बनेका थापा दम्पतीलाई उपचारका लागि राति १०:२० बजे जिल्ला अस्पताल मार्तडी ल्याइएको थियो। अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
उनकी ५० वर्षीया श्रीमती नाम्सरी थापाको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको छ। मृतकको शव हाल जिल्ला अस्पतालमै राखिएको छ। घटनास्थल र अस्पताल क्षेत्रमा मृतकका छोरा गेवा दोर्जे थापासहित प्रहरी टोली खटिएको छ।




