सुनकोसीमा खसेको कार र तीन जनाको खोजी तीव्र,मध्यपहाडी लोकमार्ग अवरुद्ध

प्रकाशित मिति:

सिन्धुली मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका तीन जना र कारको खोजी कार्य मङ्गलबार बिहानैदेखि जारी राखिएको छ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन्। घटनास्थलमा खटिएका प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार २० जना गोताखोर, २० जना नेपाल प्रहरीका जवान र दुई वटा डुङ्गाको प्रयोग गरी खोजी भइरहेको छ। तर नदीमा पानीको बहाव (करेन्ट) निकै तीव्र भएकाले उद्धार तथा खोजी कार्यमा जटिलता थपिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ११:४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५0 फिट तल सुनकोसी नदीमा खसेको थियो।

दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९, डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर कारसहित नदीमा बेपत्ता भएका छन्।

यसैबिच, बेपत्ताका परिवार, आफन्त र स्थानीयवासीले खोजी कार्यमा तीव्रता दिन, उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध पारेका छन्। गोलन्जोर र फिक्कलको सिमानास्थित वाक्सुखोलामा टायर बालेर चक्काजाम गर्दा यातायात ठप्प भएको गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए।

वडाध्यक्ष बरालका अनुसार बस चालकको लापरबाहीका कारण सडक किनारमा रोकिएको कार दुर्घटनामा परेको हो। प्रहरीले बस र त्यसका चालकलाई सोमबार नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

ताजा समाचार