सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मङ्गलबार बिहान ९:३० बजे माथिबाट ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा थुनिएको हो।
सडक अवरुद्ध भएसँगै चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने आवतजावत ठप्प भएको छ। चीनबाट आयात गरिएका मालवस्तु बोकेका कन्टेनर तथा अन्य सवारी साधन बीचबाटोमै थन्किएका छन्।
अहिले सडक विभाग, प्रहरी र स्थानीय निकायको टोली पहिरो पन्छाएर यातायात सञ्चालन गराउने प्रयासमा जुटेको प्रहरीले जनाएको छ।




