प्रधानमन्त्रीको नेतृत्वमा सर्वधार्मिक र सर्वदलीय संयन्त्र बनाउन कांग्रेसको माग

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त संयन्त्रमा हिन्दु, मुस्लिम, बौद्ध, किरात, इसाई लगायत धार्मिक समुदाय, स्थानीय सरकार, नागरिक समाज, महिला, युवा र सुरक्षा निकायको समान प्रतिनिधित्व हुनुपर्ने बताए। तनावका प्रारम्भिक सङ्केत देखिनासाथ यस्ता संयन्त्रले तत्काल संवाद सुरु गर्नुपर्ने उनको भनाइ छ।

उनले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रतिक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरे।

सचेतक राईले भने, “सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउनेमाथि कानुन अनुसार कारबाही गरियोस्। तर कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शङ्काको घेरामा नराखियोस्। म सरकारलाई सहयोगी, पारदर्शी र खुला बन्न आग्रह गर्दछु।”

संवेदनशील निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादबाट अघि बढ्नुपर्नेमा जोड दिँदै उनले असहमति निषेध गरेर एकता कायम हुन नसक्ने बताए। खुला, इमानदार र सम्मानजनक छलफलले मात्र विश्वास निर्माण गर्ने र त्यसैले दिगो समाधान दिने उनको तर्क छ। यसैबिच, उनले सरकार र आन्दोलनरत पक्षबिच भएको १३ बुँदे सहमतिले केही गम्भीर प्रश्न उठाएको समेत बताएका छन्।

ताजा समाचार