काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खालमा डोजर चलाएका छन्।
गोकर्णेश्वर नगरपालिका–४ माकलबारीदेखि गोकर्ण मन्दिरसम्मको बागमती करिडोर सडक विस्तारका लागि सेनाको सुरक्षामा रहेको वनको पर्खालमा डोजर चलाइएको हो। पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृत अनुपमान श्रेष्ठसँग सांसद पाण्डेको वादविवादसमेत भएको थियो। श्रेष्ठले वैधानिक पत्र र सेनाको ब्यारेक तथा वन्यजन्तुको सुरक्षाको कुरा उठाए पनि पाण्डेले “जनताभन्दा ठूलो ब्यारेक नभएको” भन्दै डोजर चलाउन लगाएका हुन्।
नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा र वन क्षेत्रमा मृग, जरायोलगायत वन्यजन्तुको संरक्षणका लागि सेनाले पर्खाल लगाएर सुरक्षा दिँदै आएको थियो। सडक विस्तारका लागि गोकर्णेश्वर नगरपालिकाले प्रक्रिया अघि बढाएर २०८२ जेठ ४ गते नै नेपाल ट्रष्टबाट स्वीकृति लिइसकेको थियो। नगरपालिकाले उपत्यका विकास प्राधिकरणसँग समन्वय गरी असार २२ गतेको नगरसभाबाट २५ लाख बजेटसमेत छुट्याएर वर्षा सकिएपछि काम सुरु गर्ने तयारी गरेको थियो।
नगरपालिकाले सबै कानुनी प्रक्रिया पूरा गरिसकेको अवस्थामा क्रेडिट लिनका लागि सांसद पाण्डेले प्रक्रियाविपरीत हस्तक्षेप गरेको गोकर्णेश्वर नगरप्रमुख दीपक रिसालले बताएका छन्। नगरप्रमुख रिसालले समन्वय नगरी आफैँ डोजर लिएर जानु गलत भएको टिप्पणी गरे।
अर्कोतर्फ, सांसद पाण्डेले भने नगरपालिकाले वर्षौँसम्म काम नगरेकाले उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरेर बाटो खोल्न डोजर चलाएको दाबी गरेका छन्। गोकर्णेश्वर–४ का वडाध्यक्ष जयराम महतले सांसद पाण्डेले आफूसँग समन्वय गरेर काम सुरु गरेको बताएका छन्।
पर्खाल भत्काइएको विषयमा सम्बन्धित निकायहरूसँग कुराकानी र समन्वय भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।




